Public Pana
अग्रिम टिकट बुकिङ गरेका यात्रु मुगुमै अलपत्र, माओवादी नेतालाई लिएर नेपालगञ्ज उड्यो जहाज

‘भीआईपी यात्रु’को दबाबमा अग्रिम टिकट बुकिङ गरेका १६ जना चिकित्सकलाई मुगु विमानस्थलमै छोडेर समिट एयरलायन्सको जहाज नेपालगञ्ज उडेको छ । 
 

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहितको टोली आएपछि अग्रिम टिकट बुकिङ गरेका चिकित्सकहरूलाई छोडेर समिटको जहाज नेपालगञ्ज उडेको डा. सुरज बज्राचार्यले जानकारी दिए । 
 

आफूहरूलाई मुगुको ताल्चा विमानस्थलमा छोडेर जहाज नेपालगञ्ज उडेको उनले बताए । 
जहाजमा माओवादी नेताहरू पूर्वमुख्यमन्त्री शाहीसहित माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मातृका यादव, विमला केसी, धर्म शाही र प्रकाशबहादुर शाही नेपालगन्ज उडेका छन् । 

 

तर, अग्रिम टिकट लिएका उनीहरूलाई भने विमानस्थलमै छोडिएको छ । भिआईपीहरूको दबाबमा आफूहरूलाई छोडेर जहाज गएको उनले बताए ।

‘हामीले जति अनुरोध गर्दा पनि केही चलेन,’ उनले भने,’नेताहरूको दबाबमा उहाँहरूलाई लग्यो । हामीलाई यतै छोडियो ।’
 

विमानस्थलस्थित समिट एयरका ’सिनियर अफिसर’ दिपक शाहले भने केही जना बसेर बाँकी जानुस् भन्दा चिकित्सकहरूले नमानेको बताए ।

जहाजमा केही गम्भीर बिरामीसहित नेताहरू गएको उनले दाबी गरे ।
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update