Public Pana
पोखरा विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय उडान गर्न नेपाल–चीनबीच सम्झौता

नेपाल र चीनबीच पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि वातावरण बनाउने सहमति भएको छ ।
 

दुई देशका प्रधानमन्त्रीबीच छलफलपछि जारी संयुक्त वक्तव्यमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सन्तोषजनक रहेको जनाउँदै अन्तर्राष्ट्रिय उडानका लागि सहजीकरण गर्ने सहमति भएको उल्लेख छ । 
 

चीनकै ऋण सहयोगमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हाल आन्तरिक (देशभित्र) उडान मात्रै भइरहेका छन् ।
अब अन्तर्राष्ट्रिय उडान पनि गर्ने वातावरण बनाउन चीन र नेपालबीच सहमति भएको हो । 

 

‘दुवै देशले आफ्ना एयरलाइन्स कम्पनीलाई उडान सुरु र थप उडानका लागि सहयोगसँगै सहजीकरण गर्ने’, संयुक्त वक्तव्यमा भनिएको छ, ‘पोखराबाट सिधा उडान गरी बजारको आवश्यकता, व्यापार र आर्थिक अन्तरक्रियाका लागि हवाई रुट व्यवस्थापन गर्ने ।’
 

पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान चिनियाँ एयरलाइन्स सिचुवान एयरलाइन्सले छेन्दुबाट गरेको थियो ।
 

गत असार पहिलो हप्ता भएको ड्रागन बोट फेस्टिभलमा चिनियाँ चार्टड उडानमाफर्फत सिधै पोखरा आइपुगेका थिए ।

त्यसपछि भुटानको ड्रुक एयरले भदौ अन्तिम साता सिधा चार्टड उडान गरेको थियो ।  
 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update