Public Pana
सुख्खा बन्दरगाहमा अनुदानमा प्राप्त सामाग्री बेवारिसे अवस्थामा

चीन सरकारको अनुदानमा प्राप्त करोडौ रुपैयाँ पर्ने कन्टेनर स्क्यानर मेसिन वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार परिसरभित्र बेवारिसे अवस्थामा थन्किएको छ । 

भारत तथा तेस्रो मुलुकबाट रेलमार्फत् नेपालमा भित्रिने ठुला कन्टेनरभित्र रहेका मालवस्तुको स्क्यान गरी परीक्षण गर्ने उद्देश्यले नेपाल सरकारले मेसिन प्राप्त गरेको हो । तर,सो स्क्यानर मेसिन केही वर्षदेखि वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयमा बेवारिसे अवस्थामा छ ।

सो मेसिन सञ्चालन गर्न सुख्खा बन्दरगाह कार्यालयले चीनबाटै प्राविधिक झिकाई ६ जना कर्मचारीलाई तालिमसमेत दिएको थियो । तर, तालिम पाएका कर्मचारीहरु पनि अन्यत्र सरुवा भएर गएपछि अहिले मेसिन बिग्रिएर काम नगर्ने अवस्थामा पुगेको भन्सार कर्मचारी बताउँछन् । 

दीर्घकालिन रुपमा सञ्चालन गर्न सक्ने–नसक्ने विषयमा अध्ययन नै नगरी अनुदानमा प्राप्त गरेको भरमै नेपाल भित्र्याइएको मेसिन अहिले कर्मचारीहरुका लागि समेत समस्याको विषय भएको छ ।

गत महिना अर्थमन्त्री रामशरण महतले वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयको अनुगमनकोक्रममा भन्सार कर्मचारीले नियोजित ढंगले कन्टेनर स्क्यानर मेसिन बिगारेर राखेको भन्दैसार्वजनिक रुपमा टिप्पणी गरेका थिए । 

सुख्खा बन्दरगाह भन्सार कार्यालयका भन्सार अधिकृत सुशीलप्रसाद शर्मालेस्क्यानर मेसिन करिव १५ वर्षअघि चिनियाँ सरकारको अनुदानमा प्राप्त भएको जनाए । उनले तत्कालीन अवस्थामा  उच्च लोडसेडिङ र दक्ष प्राविधिक जनशक्तिको अभावमा मेसिन सुचारु गर्न नसकिएको बताए ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयमा भारतसहित तेस्रो मुलुकबाट दैनिक सयौको संख्यामा कन्टेनर भित्रिन्छन् । 
प्रविधिमैत्री मेसिन सञ्चालनको अभावमा अहिलेकन्टेनरको भैतिक परीक्षण गर्न कर्मचारीलाई भ्याई नभ्याई छ । 

 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update