Public Pana
सरकारले काम गर्न नसकेको भन्दै पार्टीभित्रै कांग्रेसको विरोध

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा सरकारको प्रभावकारितामाथि प्रश्नहरू उठे । ती प्रश्नको मन्त्रीहरूबाट जवाफ पनि आयो । जवाफ सरकारको बचाउ र  बाहना देखाएर भाग्ने किसिमको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस सबैभन्दा ठूलो हिस्सेदार हो । २५ सदस्यीय मन्त्रीमण्डलमा कांग्रेसबाट नौ जना मन्त्री छन् ।
 

यो सरकारमा कांग्रेसबाट मन्त्री भएकाहरू  राम्रो कामका लागि कतै देखिँदैनन्, देखिन्छन् त विवादित विषयमा मात्र । त्यसैले कांग्रेस बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेले भनेका थिए– हाम्रा मन्त्रीहरूले राम्रो काम गरे भनेर भाषण गर्न पाइँन । प्रचण्ड सरकारमा गएका कांग्रेसका मन्त्रीहरूको चर्चा नै शून्य छ । जबकी कांग्रेसले अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालय, परराष्ट्र मन्त्रालय र आपूर्ति मन्त्रालय जस्ता महत्वपूर्ण मन्त्रालयको नेतृत्व लिएको छ ।
 

यसरी बैठकमा मन्त्रीहरूको कार्यसम्पादनमाथि प्रश्न उठेपछि उनीहरूले निरीहता प्रस्तुत गरे । बाहाना बनाएर प्रश्नबाट भाग्ने असफल प्रयास गरे ।
 

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उद्योग तथा वाणिज्यमन्त्री रमेश रिजालले चामल र चिनीको अभाव समाधान गर्न भारतसँग कुरा भए पनि कार्यान्वयनमा नआएको गुनासो गरे । उनले भारतको वाणिज्यमन्त्री र राजदूतसँग कुरा भए पनि कार्यान्वयन नभएको बैठकमा जवाफ दिए । 
 

ऐनमा उल्झन भएको विषय कानसन मन्त्रालयसँग समन्वय गरेर संसोधन गर्न सकिन्छ । तर यसमा भएको प्रयास केही उल्लेख गरेनन् । 
 

कानुनमन्त्री धनराज गुरुङले कानुन बनाउन आफू अर्काका मन्त्रालय धाउन नगएको बताए । अन्य मन्त्रालयबाट कानुन बनाउन पहल नभएको उनको दावी थियो । केन्द्रीय सदस्यहरूले कानुनका अभावमा प्रदेश सरकार र संरचना बेकामे हुन थालेको बताएपछि उनले प्रस्टीकरण दिएका हुन् । मन्त्री गुरुङले बैठकमा दिक्दारी पोखे । 
 

बैठकको सुरुमा शिक्षकको आन्दोलनको बारेमा जानकारी दिएका उपसभापति तथा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिक्षक महासंघसँग भएको सम्झौता पालना गर्न पूर्ण प्रतिबद्ध रहेका बताएका थिए । खड्का प्रचण्ड सरकारमा दोस्रो वरीयताका उपप्रधानमन्त्री हुन् । उनकै नेतृत्वमा कांग्रेस सरकारमा छ । उनी अहिले प्रधानमन्त्री देश बाहिर भएकाले कार्यबहाक प्रधानमन्त्रीको भूमिकामा पनि छन् ।
 

रोलक्रममा बेलुका बोल्ने पालो आएपछि खड्काले योग ढकाल (रिगल)लाई दिइएको आममाफी बारे प्रस्टीकरण दिए । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यो विषय उठाएका थिए । 
 

सांसद समेत रहेका केन्द्रीय सदस्य रामहरि खतिवडाले युवाहरूको विदेश पलायन बेलैमा ध्यान आवश्यकता रहेको बताए । 
 

अर्का सांसद् तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले देशमा युवा जनशक्तिका लागि अवसर सिर्जना गर्न नसक्दा बर्सेनि डेढ खर्ब रुपैयाँ विदेश गइरहेको बताए । 

प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  ०७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update