Public Pana
बाबु छोराको अन्तेष्टी एउटै चितामा, रोकिएन मलामीको आशु

सल्यानमा तरकारी बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका एकै घरका बाबु छोराको एउटै चितामा अन्त्येष्टि गरिएको छ । सोमबार साँझ ६ बजेतिर ग्वारखोलाको चितामा अन्त्येष्टि गरिएको स्थानीय सागर रोकाले बताउनुभयो । 

दुर्घटनामा मृत्यु भएका तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोला टोलका बुबा ५० वर्षीय गणेश बुढा र छोरा २५ वर्षीय भक्तबहादुरको एउटै चितामा अन्त्येष्टि गरिएको हो । 

दुबै जनाको सल्यान कपुरकोटमा गाउँपालिका–३ चोरखोला नजिकैको सेतापैरामा दुर्घटना हुँदा मृत्यु भएको हो । आफ्नै गाडीमा तरकारी ल्याउँदै गरेको अवस्थामा सोमबार बिहान साढे ६ बजेतिर जीप अनियन्त्रित भई पल्टिँदा घटनास्थलमै मृत्यु भएको थियो । 

छोराले गाडी चलाइरहेका थिए भने बुबा सोही गाडीमा सवार थिए । दुवै बाबु छोरा सल्यान, रोल्पालगायतबाट तरकारी ल्याएर दाङसहित बुटवल, नारायणघट, बाँकेलगायतका बजारमा विक्री गर्दै आएका थिए ।

उनीहरू पाँच वर्षदेखि यसरी काम गर्दै आएको वडाध्यक्ष माधव वलीले बताउनुभयो ।  “उहाँहरू लामो समयदेखि छोराले गाडी चलाउने र बुबा सँगै हिँड्ने गर्नुहुन्थ्यो”, वडाध्यक्ष वलीले भन्नुभयो, “रोल्पा, सल्यानबाट तरकारी ल्याएर बेच्ने गर्नुहुन्थ्यो ।” 

मलामी गएकाहरुको गहभरी आशु झार्दै भन्दै थिए, विधिको विधान कसले टार्न सक्छ? बाबु छोराको अन्तेष्टी  एउटै चितामा देखेर आशु नझार्ने कोही थिएन । 

 रा १ च १०२५ नम्बरको जीप साढे तीन सय मिटर तल खस्दा टुक्राटुक्रा परेको थियो । सोही दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–२ निवासी ३५ वर्षीय नारायण योगी घाइते हुनुभएको थियो । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update