Public Pana
प्रधानमन्त्री प्रचण्डविरुद्ध परेको एक मुद्दामा सर्वोच्चले आगामी मंसिर २८ गते निर्णय सुनाउने

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दामा आगामी मंसिर २८ गते निर्णय सुनाउने भएको छ । 
झण्डै सात वर्ष पुरानो मुद्दामा सुनुवाई गर्दै न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले निर्णय सुनाउने मिति आइतवार घोषणा गरेको हो । 
द्वन्द्वकालीन मुद्दाबारे माओवादी केन्द्रका अध्यक्ष दाहालले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएपछि उहाँको आलोचना समेत भएको थियो ।  

दाहालकोअभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्च अदालतमा अवहेला निवेदन दर्ता गरेका थिए ।

लामो समयदेखि सर्वोच्चमा बिचराधीन मुद्दामा आज आइतबार दुवैतर्फको बहस सकिएपछि इजलासले २८ मंसिरमा निर्णय सुनाउने आदेश दिएको हो ।

प्रधानमन्त्री चीन भ्रमण रहेका बेला सर्वोच्च अदालतले आइतवार उहाँविरुद्धको मुद्धामा निर्णय सुनाउने आदेश दिएसँगै राजनीतिक वृतमा विभिन्न अड्कलबाजी शुरु भएको छ ।

कतिपयले दशैतिहारपछि राजनीतिक कोर्ष परिवर्तन हुन सक्ने अनुमान गरिरहेका बेला सर्वोच्चको आजको आदेशलाई समेत उक्त प्रकरणसँग जोडेर विश्लेषण भइरहेको छ । 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update