
अभिनेता अनमोल केसीले आफूले फिल्म ‘रावायण’ अहिलेसम्म साइन नगरेको बताएका छन् । उनले ‘फर्की फर्की’ र ‘जेरी अनटप’बाहेक अन्य फिल्ममा अब अनुबन्धित नभएको बताए ।
साइन नभईकन ‘रावायण’का निर्माताले कफी खान भेटेको बेलाको तस्वीरलाई ‘रावायण कमिङ सुन’ भनेर प्रचार गरेकोप्रति केसीले असन्तुष्टि व्यक्त गरे । औपचारिक रुपमा अनुबन्धित नभईकन निर्माताले सुटिङमा जानुपर्छ भनेर दबाब दिएको र यसप्रति आफूले असुविधा महसुस गरेको अनमोलले बताए ।
अनमोलले भने, ‘पछिल्लो समय उहाँहरुले तिहारअघि नै सुटिङ सक्ने भनेर टेक्निसियनलाई साइन गराउनुभएको रहेछ ।’ रावायणका निर्मातालाई आफूले दुईवटा विकल्प पेश गरेको अनमोलले बताए ।
उनले भने, ‘यो परिस्थितिमा उहाँलाई मैले दिएको दुईवटा अप्सन दिएको छु– या तपाईंलाई प्रोजेक्टप्रति कन्फिडेन्ट छ भने अर्को एक्टर लिएर जानुस् । वा मसँग काम गर्ने इच्छा भने मैले अरु प्रोजेक्टलाई टाइम दिइसक्या छु । कुर्नुपर्ने हुन्छ ।’
यसबारे सम्पर्क गर्दा रावायणका निर्देशक सुदर्शन थापाको फोन उठेन । रावायणका प्रोडक्सन म्यानेजर पुष्कर लामाले कहिलेबाट छायांकन सुरु हुन्छ भन्नेबारे बताएनन् ।