Public Pana

चीनको हाङजाओमा जारी १९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोली आज आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । 

चीन जाने टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) ले आज बिदाइ गरेको हो ।
गत साता चोटका कारण शल्यक्रिया गरेपछि स्पिनर ललित नारायण राजवंशीले भने एसियाड गुमाएका छन्। अभ्यासका क्रममा त्रिवि क्रिकेट मैदानमा घाइते भएका ललितको स्थान सागर ढकालले लिएका छन् ।

अर्का स्पिनर सन्दीप लामिछाने पनि टोलीसँगै चीन जान पाएनन्। उनीविरुद्धको बलात्कार मुद्दाको पेसी आजै परेका कारण उनी टोलीसँगै चीन जान नपाएका हुन् ।

तर न्यायाधीश अभाव भन्दै काठमाडौं जिल्ला अदालतले सुनुवाइ स्थगन गरेको छ। अब उनी चीन जाने वा नजाने भन्ने कुरा अनिश्चित बनेको छ ।

एसियाडमा नेपाल मंगोलिया र मालदिभ्स रहेको समूह ए मा  छ । 
एसियाडमा नेपाली टोलीले बुधबार मंगोलियासँग खेल्दै छ। खेल जेझियाङ क्रिकेट फिल्डमा हुनेछ । 

समूह चरणको अन्तिम खेलमा नेपाल आगामी आइतबार मालदिभ्ससँग खेल्ने तालिका छ। क्वार्टरफाइनलमा पुगे नेपालले पुनः टेस्ट टोलीसँग खेल्नेछ । 

क्वार्टरफाइनलमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशले सीधै स्थान बनाएका छन् । 
एसियाडमा क्रिकेटका खेल असोज १० देखि २१ गतेसम्म चल्नेछ । 

रोहित कुमार पौडेल (कप्तान), कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल, गुलशन झा, करण केसी, अभिनाश बोहरा, सन्दीप लामिछाने, सागर ढकाल, विवेक कुमार यादव, प्रतिश जि.सी, सोमपाल कामी, सन्दीप जोरा र विनोद भण्डारी (विकेटकिपर) रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ११:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update