Public Pana
शिक्षकले आजदेखि थप सशक्त आन्दोलन गर्दै

राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले जारी आन्दोलनलाई आज आइतबारदेखि थप शसक्त बनाउने भएका छन् । 
 

हिजो शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति  र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आन्दोलन जारी राख्ने जानकारी दिएका हुन् ।
 

नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा असोज ५ गते नेपाल शिक्षक महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने निर्णय भएको जनाइएको छ । सोही क्रममा शनिबार पनि माइतीघरदेखि नयाँ वानेश्वरसम्म विरोध प्रदर्शन गरिएको थियो । 
 

आइतबार थप सशक्त प्रदर्शन गर्ने गरी विभिन्न संघर्ष समिति लगायत सम्पूर्ण शिक्षक, बालविकास शिक्षक र विद्यालय कर्मचारीहरुसँग सहकार्य गर्दै अघि बढ्ने निर्णय भएकोले माइतीघर मण्डलामा अनिवार्य उपस्थित हुन सबै शिक्षक कर्मचारीलाई समितिले आग्रह गरेको छ ।
 

त्यस्तै पेन्सन बन्चित शिक्षक केन्द्रीय संघर्ष समितिले पनि सम्पूर्ण शिक्षक कर्मचारीको माग र मुद्दालाई सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी राख्ने निर्णय गरिएको जानकारी दिएको छ । 
 

अस्ति शुक्रबार सरकार र शिक्षक महासंघबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी रहने घोषणा गरेका थिए ।
 

प्रकाशित मिति: आइतबार, असोज ७, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update