Public Pana
चीनमा ठूलो एसियाडको उद्घाटन

एसियाली खेलकुदको सबैभन्दा ठूलो कार्यक्रम १९ औ एसियाडको भव्य उद्घाटन भएको छ ।

चीनको हान्झाउस्थित हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा चिनियाँ राष्ट्रपति सी जिङपिङले १९ औं एसियाडको औपचारिक उद्घाटन भएको घोषणा गरे । राष्ट्रपति सीले पनि १९ औं एसियाडमा निकै रुचि दिइरहेका थिए ।
 

१९ सेप्टेम्बरदेखि नै फुटबल, क्रिकेट र भलिबलका खेलहरु सुरु भइसके पनि एसियाडको औपचारिक उद्घाटन शनिबार भएको हो । एसियाडमा टेबल टेनिस लगायत अन्य केही खेलको प्रतिस्पर्धा पनि सुरु भइसकेको छ । शनिबार भने टेबल टेनिस र सेलिङका केही खेलहरु भएका थिए ।
 

चिनियाँ राष्ट्रपति सी र ओलम्पकि काउन्सिल अफ एसिया (ओसिएका) कार्यवाहक अध्यक्षको आगमनपछि सुरु भएको उद्घाटन समारोहको सुरुमा ‘वाटर इन अटुमन ग्लो’ नामक ओपनिङ प्रदर्शन भएको थियो ।
 

त्यसपछि सहभागी ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए । सहभागी खेलाडी र जजको तर्फबाट एक एक जनाले सपथ लिएका थिए ।
 

एसियाडको टर्च बालेपछि अन्तिममा १९ औं एसियाडको अफिसियल गीत ‘द लभ वि सेयर’ को प्रस्तुति सँगै उद्घाटन समारोह सकिएको थियो । उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए ।
 

कमलको फूलजस्तै आकारमा रहेको उद्घाटन स्थल बिग लोटसको नामले समेत चिनिन्छ । एसियाडको समापन पनि यही हुनेछ ।
 

उद्घाटन भएको शहर अलिबाबाका संस्थापक ज्याक माको जन्मथलो समेत हो । प्रविधिको शहरको रुपमा चिनिने हान्झाउलाई पहाड र तालको शहर समेत भनिन्छ । वेस्ट लेक यहाँको चर्चित ताल हो ।
asi1695479163.jpg

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  २०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update