Public Pana

चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई वटा टुहुरा गैँडा पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा पठाइने भएको छ । 
 

असोज १० गते उक्त दुई गैँडालाई कोशी टप्पु पठाउन लागिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन गणेश प्रसाद तिवारीले बताउनुभयो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको निर्णय अनुसार उक्त दुई गैडा कोशी टप्पु आरक्षमा स्थानान्तरण गर्न लागिएको उहाले बताउनु भयो ।

कोशीमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा त्यहाँ पठाउन लागिएको हो ।

विभागका तत्कालिन उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा बनेको प्राविधिक समितिले विस्तृत अध्ययनपछि प्रतिवेदन बुझाएको थियो । प्रतिबेदनमा कोशीमा गैडाको उपयुक्त बतावरण निर्माणका साथै सुरक्षा ब्यबस्थाको प्रबन्ध मिलाएर लान भनिएको ढकालले बताउनुभयो ।
 

कोशी टप्पु वन्यजन्तु आरक्षमा हाल गैँडा छैनन् ।  चितवनबाट लगिएका गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि त्यहाको बातावरणमा घुलमिल भए पछि प्रकृतिमा छाडिने निकुञ्जले जनाएको छ ।
 

कोशीको पथरी सेक्टर कार्यालयको आरक्ष सुरक्षार्थ रहेको सेनाको पोष्ट क्षेत्र नजिक गैँडालाई राखिनेछ ।
 

चितवन राष्ट्रिय निकुञ्जका वार्डेन तिवारीले उद्धार गरेर सौराहामा हुर्काएपछि गत वैशाख ३१ गते निकुञ्जको लामिताल क्षेत्रमा छाडिएका दुई वटा गैँडा कोशी पठाउन लागिएको बताउनु भयो । ती दुवै पोथी गैँडा हुन् । ती गैँडा तमासपुर र कुजौली क्षेत्रमा माउबाट छुटिएर अवस्थामा अन्दाजी दुई र एक महिना उमेरमा उद्धार गरिएको थियो । 
 

अहिले पुष्पा करीब ४ वर्ष र अञ्जली अढाई वर्ष उमेरका छन् । गैँडा पठाउनका लागि सबै तयारी भइसकेको निकुञ्जका सूचना अधिकारी समेत रहेका गणेशप्रसाद तिवारीले बताउनु भयो ।

गैडा पठाउनको लागि पुरानो खोरलाई पनि मर्मत गरिएको छ ।
 

पछिल्लो गणना  अनुसार चितवनमा ६ सय ९४ गैँडा रहेको तथ्याङ्क छ ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update