Public Pana
श्रीलङ्कामा हुने यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

श्रीलङ्कामा आगामी जनवरी १३ देखि हुने १५ औँ आइसिसी यू–१९ मेन्स क्रिकेट विश्वकपको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) आज शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसहित समूह डीमा परेको छ ।

नेपालले पहिलो खेल जनवरी १३ मा न्युजिल्यान्डविरूद्ध खेल्नेछ। समूह चरणको अर्को खेलमा नेपालले १७ जनवरीमा पाकिस्तानसँग भिड्ने छ भने अन्तिम खेल जनवरी २० मा अफगानिस्तानसँग खेल्नेछ ।

आइसिसीले यो संस्करणमा प्रतियोगिताको फर्म्याटमा केही परिवर्तन गरेको छ ।

१६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ। हरेक समूहका टप थ्री टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन् ।
दुई समूहको शीर्ष तीन टोली रहेको सुपर सिक्स चरणमा हरेक टोलीले दुई खेल खेल्ने छन्। अर्को समूहबाट आफ्नोभन्दा फरक स्थानमा छनौट भएका टोलीसँग यी दुई खेल हुने छन् ।

नेपाल रहेको समूह डीका टप थ्री टोली भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका रहेको समूह एका टप थ्री टोलीसँग सुपर सिक्स चरण खेल्ने छन् ।

समूह बीमा रहेका इंग्ल्यान्ड, साउथ अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्डमध्ये शीर्ष तीन टोलीले समूह सीमा रहेका  

अस्ट्रेलिया, श्रीलङ्का, जिम्बाबे र नामिबियाबाट छानिएका शीर्ष तीन टोलीसँग सुपर सिक्स चरण खेल्ने छन् ।   
समूह एको चौथो टोलीले समूह डीको चौथोसँग र समूह बीको चौथो टोलीले समूह सीको चौथोसँग खेलेर प्रतियोगिता टुङ्ग्याउने छन् ।

सुपर सिक्स चरणमा हरेक समूहबाट शीर्ष दुई गरी चार टोली सेमिफाइनलमा छनौट हुने छन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update