Public Pana

कार्यबहाक प्रधानमन्त्री पूर्ण बहादुर खड्काले अन्तराष्ट्रिय रंशालाहरुको निर्माण र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरवृद्धि गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

आज शुक्रबार काठमाडौंमा क्यानको चुनावी साधारण सभा उद्घाटन गर्दै कार्यबहाक प्रधानमन्त्री खड्काले त्रिभुवन विश्वविद्यालय स्थित क्रिकेट मैदान, मुलपानीमा निर्माणाधिन क्रिकेट रंगशाला लगायत पोखरा, भैरहवा स्थित खेल मैदानहरुलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्तरवृद्धि गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको हो ।

उहाले रंगशालाहरुको निर्माण एवं उक्त खेल मैदानहरु नियमित मर्मत संभारको लागि आवश्यक खेल मैदान सामाग्रीहरुको व्यवस्थापनका लािग सरकारबाट प्राथमिकताका साथ अग्रसरता लिइने उल्लेख गर्नुभयो ।

उहाले नेपाल लगायत एशियाका ८ राष्ट्रहरुको सहभागितामा काठमाडौंमा हुने प्रतियोगीता र महिला विश्वकप क्रिकेट प्रतियोगिता नेपालका लागि हर्ष र गौरवको विषय भएकाले यसलाई सफल तुल्याउनको लागि सबै एकताबद्ध भएर लाग्नुपर्ने जिकिर गर्नुभयो ।  

त्यस्तै उहाले नेपालमा क्रिकेटको विकास, विस्तार र सबलीकरण गर्न उच्चतम प्राथमिकताका साथ काम अगाडि बढाउने विषयमा सरकार प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो ।

खेल क्षेत्रलाई थप मर्यादित, सुरक्षित एवं व्यावसायिक तुल्याउन सरकारी तथा निजी क्षेत्रबाट उदारतापूर्वक अगाडि बढ्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

त्यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले क्यानले बिभिन्न समस्याका बाबजुत नेपाल टी–२० लिग गर्न सफल भएको र त्यसैको अनुभवका आधारमा नेपालले लगातार टी–२० खेलहरुमा जीत हासिल गरेको बताउनुभयो ।
उहाले क्रिकेटका सहि पाटोहरुलाई सवैले स्वीकार गर्नुपर्ने बताउनुभयो । चन्दले सवै टिमको सहयोगमा नेपाली क्रिकेट टीमलाई अहिलेको अवस्थासम्म ल्याउन सफल भएको जिकिर गर्नुभयो ।

कार्यक्रममा क्यानले नेपालका लागि पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने खेलाडीहरुलाई सम्मान गरेको थियो ।
साधारणसभा अन्तर्गत शनिबार नयाँ नेतृत्व चयन गर्न निर्वाचन हुने क्यानले जनाएको छ । नयाँ नेतृत्वमा चतुरबहादुर चन्द र विनय राजभण्डारीबीच प्रतिष्पर्धा हुने बुझिएको छ । 

क्यानको उपाध्यक्ष पदका लागि अहिलेसम्म रोहन सिंह मात्रै मैदानमा देखिएका छन्। उनका प्रतिस्पर्धी नदेखिएकाले सर्वसम्मत हुने सम्भावना पनि छ।
 

सचिव पदमा नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का बलिया दाबेदारका रुपमा देखिएका छन्। उनी चन्द प्यानलबाट सचिवमा उठ्ने पक्का भएको छ।
उनलाई क्यानका तत्कालीन कार्यवाहक महासचिव प्रशान्तविक्रम मल्लले चुनौती दिँदैछन्। एनएसएल विवादपछि क्यानबाट बाहिरिएका मल्लको अहिलेसम्म प्यानल टुंगो लागेको छैन।

 

पारसले चन्द प्यानलबाट उठ्ने पक्का गरिसक्दा उनले राजभण्डारी प्यानलतिर पनि आफूलाई खुलाइसकेका छैनन्। 
 

उता क्यानको कोषाध्यक्ष पदका लागि चन्द प्यानलबाट पदम खड्का मैदानमा देखिएका छन्। तर सकेसम्म सबै पदमा सहमति गराउने प्रयास पनि भइरहेको छ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update