Public Pana
सर्लाहीमा कर्फ्यु उलंघन गर्दै प्रदर्शन

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु उलंघन गर्दै प्रदर्शन भएको छ । 

शुक्रबार दिउँसो मलंगवाका विभिन्न क्षेत्रमा कर्फ्यु उलंघन गर्दै स्थानीयले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीलाई तितरभितर पार्न प्रहरीले एक दर्जन भन्दा धेरै सेल अश्रु ग्यास प्रहार गरेको छ । 

जिल्ला समन्वय समितिको चोक अगाडि भेला भएर स्थानीयले कर्फ्यु उलंघन गर्दै प्रदर्शन गरेका हुन् । 

हिजो बिहीबार राति गणेशको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवा ३ मा दुई समूहबीच झडप भएपछि मलंगवा फेरि अशान्त बनेको छ । 

अवस्था थप विग्रन नदिन स्थानीय प्रशासनले गएराति देखि नै मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

गएरातिको झडपमा परेर ८ जना भन्दा धेरै घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

कर्फ्यु उलंघन गर्दै केही ठाउँमा सामान्य प्रदर्शन भए पनि अहिलेसम्म मलंगवामा कुनै अप्रिय घटना नभएको दाबी प्रहरीले गरेको छ । 

‘जिल्ला विकास समिति चोकसहित केही ठाउँमा स्थानीय भेला हुँदा प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको मात्रै हो,’ जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले भने, ‘अश्रुग्यास प्रहार भएपछि भिड तितरभितर भएको छ। त्यो बाहेक थप अप्रिय घटना भएको छैन ।’
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update