Public Pana
बलिउड अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी

भारतको कोलकाता उच्च अदालतले बलिउड अभिनेत्री जरिन खानविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
 

सन् २०१८ को घटनाका विषयमा खानविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
उनीविरुद्ध ठगीको आरोप रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

कोलकातामा भएको दुर्गापूजामा पूर्वसहमतिअनुसार प्रस्तुति दिनुपर्ने तर उपस्थित नभएकाले आयोजकले उनीविरुद्ध अदालतमा याचिका दायर गरेका थिए ।
 

साथै कोलकाता र त्यहाँका अन्य ६ वटा कालीपूजामा उनी उपस्थित नभएको बारेमा पनि उजुरी परेको थियो ।
 

पाँच वर्षअघि आयोजकले जरिनविरुद्ध कोलकाता प्रहरीमा ठगीको उजुरी दिएका थिए। त्यसपछि आयोजकले उनीविरुद्धको कानुनी प्रक्रिया अघि बढाएका थिए । 
अभिनेत्री जरिनले भने अदालतको आदेशबारे आफूलाई कुनै जानकारी नभएको दाबी गरेकी छन् ।

 

उनले भारतीय सञ्चारमाध्यम इन्डिया टुडेसँग भनिन्, ‘म ढुक्क छु, यसमा कुनै सत्यता छैन। म पनि अचम्ममा परेकी छु र मेरो वकिलसँग संवाद गरिरहेको छु । त्यसपछि मात्र म तपाईंलाई केही स्पष्ट कुरा बताउन सक्छु। तपाईं मेरो एचआरसँग कुरा गर्न सक्नुहुन्छ ।’
 

जरिन २०१८ मा मुद्दाका क्रममा बयान दिन प्रहरीसमक्ष हाजिर भएकी थिइन् । 


‘वीर, हेट स्टोरी २ र ३, हाउसफुल ३, रेडी’ जस्ता दर्जनौँ फिल्ममा काम गरेकी जरिन पछिल्लो समय फिल्मबाट टाढा छिन् ।
 

उनले फिल्म रेडीमा समावेश ‘क्यारेक्टर ढिला हे’ बोलको आइटम गीतबाट सर्वाधिक चर्चा पाएकी थिइन् ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १०:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update