Public Pana
सर्लाहीमा रातिदेखि अनिश्चितकालीन कर्फ्यु, केही घरमा आगजनी र तोडफोड

गणेण पूजाको मूर्ति विसर्जन गर्ने क्रममा उत्पन्न बिवादको कारण हिजो बिहीबार रातिदेखि सर्लाही सदरमुकाम मलंगवाको अवस्था फेरि तनावग्रस्त बनेको छ । 

प्रदर्शनसहित आगजनी र तोडफोडका घटना हुन थालेपछि बिहीबार राति १० बजेदेखि सदरमुकाम मलंगवाको निश्चित क्षेत्रमा स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । 

सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) इन्द्रदेव यादवका अनुसार बिहीबार साँझदेखि केही उच्छृंखल व्यक्तिहरुले सदरमुकामको बजार क्षेत्रमा आगजनी, तोडफोड, ढुंगामुडा र प्रदर्शन गर्न थालेपछि कर्फ्यु आदेश जारी गर्नुपर्ने अवस्था सिर्जना भएको हो । 

‘आगजनीबाट केही घर र पसलमा क्षति पुगेको छ,’ सीडीओ यादवले शुक्रबार बिहान नेपालखबरसँग भने, ‘स्थानीय प्रशासनको सक्रियताले थप क्षति हुन पाएको छैन। हामीले आगजनी बारुणयन्त्रको सहायताले निभाएका छौँ ।’

बिहीबार साँझदेखि नै मलंगवामा प्रदर्शन भएको थियो। त्यसक्रममा प्रहरी प्रशासनले सम्झाइबुझाइ गर्दा प्रदर्शनकारीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रहरीले अश्रुग्यास र हवाइ फाइर गरेको थियो ।

त्यति गर्दा पनि प्रदर्शनकारीहरुले आफ्ना गतिबिधि नरोकेपछि कर्फ्यु आदेश जारी गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ । 

कर्फ्यु आदेशपछि मलंगवाको अवस्था रातभर शान्त रहेको यादवले बताए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update