Public Pana
प्रधानमन्त्री चीन भ्रमणमा रहँदा प्रधानसेनापति किन भारत जादैछन !

सेना प्रमुखहरूको सम्मेलनमा सहभागी हुन प्रधान सेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् ।

नयाँ दिल्लीमा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने तेह्रौँ संस्करणको इन्डो–प्यासिफिक आर्मिज् चिफ कन्फरेन्स (आईपीएसीसी) मा सहभागिताका लागि उनी असोज ७ गते भारत प्रस्थान गर्न लागेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार जनाएको छ । 

आईपीएसीसीको सम्मेलनकै क्रममा आयोजना हुने ४७ औँ इन्डो–प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनारमा उपरथी योगराज शर्मा र महासेनानी वसन्त बहादुर गौतम सहभागी हुनेछन् भने नवौँ सिनियर इनलिस्ट लिडर फोरममा सहभागी हुन सेना प्रमुख सुबेदार रत्न बहादुर थापा मगर पनि भ्रमण दलमा संलग्न रहनेछन् । 

गत भाद्र २३ गतेको मन्त्रिपरिषद्को निर्णय बमोजिम नियमित रूपमा सञ्चालन हुँदै आएको सो सम्मेलनमा प्रधान सेनापति सहभागी हुन हुन लागेको सेनाले स्पष्ट गरेको छ । 

भारत र संयुक्त राज्य अमेरिकाका सेनाहरूको सह–आयोजनामा सञ्चालन हुने सम्मेलनमा सहभागी भई प्रधान सेनापतिको नेतृत्वको टोली असोज ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

नियमित रूपमा सञ्चालन हुँदै आएको यस कार्यक्रममा सहभागिताबाट मित्रराष्ट्रहरूका सैन्य सङ्गठनहरूका बिच सुमधुर सम्बन्ध विकासमा थप मद्दत पुग्ने एवं मानवीय सुरक्षाका साझा चासोका विषयहरूमा ज्ञान र अनुभवको आदान प्रदानका लागि उपयुक्त अवसर प्राप्त हुने विश्वास नेपाली सेनाले विज्ञप्तिमार्फत लिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update