Public Pana

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन्।
 

आज बिहीवार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
 

केही दिनअघि अध्यक्ष नेपालले पार्टीका नेताहरुको कार्यविभाजन गरेका थिए। अध्यक्ष नेपालले गरेको कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालसहित अन्य नेताहरुले समेत असन्तुष्टि जनाउँदै आएका छन् ।
 

सोही प्रसंगलाई लिएर उनले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताए । उनले अनुशासनको ज्ञान हुनेहरुले पार्टीका समस्या बाहिर नभन्ने बरु पार्टीकै बैठकमा राख्ने बताए । उनले पार्टीको हीत नचाहनेहरु फरक किसिमले चल्ने बताए । उनले नमिलेका कुरालाई मिलाएर लैजान सकिने बताए ।
 

उनले भने, ‘पार्टीभित्र अनेकौँ समस्याहरु हुन्छन्, ति समस्याहरु पार्टीले नै हल गर्छ। बाहिर गीत गाएर हिँड्ने होइन । बाहिर नाचेर हिँड्ने कुरा भएन। केही समस्याहरु छन् भने पार्टीको बैठकमा बस्ने, अनुशासनको ज्ञान भएकाले त्यो ढंगले गर्छन्, अनुशासनको ज्ञान नभएकाले जे पनि भन्न सक्लान्। पार्टीको हीत चाहने एक ढंगले र अहीत चाहने अर्को ढंगले चल्छन् । कतिपय कुरा नमिलेका होलान्, मिलाउनुपर्छ ।’
 

कार्यक्रममा बोल्दै उनले कृषि उत्पादनमा नेपाललाई राम्रो मुलुकका रुपमा विकसित गर्न सकिने बताए। उनले खाद्यान्न उत्पादन, कृषि उत्पादन,कृषिजन्य उद्योगधन्दाको विकास गर्ने हिसावले अघि बढ्न सुझाव दिए।

उनले कृषिको विकासमा जोड दिने हो भने देशको अर्थतन्त्र बलियो हुने बताए ।
 

अध्यक्ष नेपालले विद्यालय शिक्षा विधेयकका बारेमा सरकारले सम्बन्धित पक्षसँग वार्ता गरेर उचित ढंगले उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताए ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update