Public Pana
साढे ४४ अङ्कले बढेर शेयर बजारमा हरियाली, ३ अर्ब २९ करोड रुपैयाँको कारोबार

शेयर बजार आज बिहीवार उच्च अङ्कले बढेर हरियाली भएको छ । शेयर बजार परिसूचक नेप्से आज कारोबार हुने साताको अन्तिम दिन बिहिबार ४४ दशमलव ३४ अङ्कले बढेर दुई हजार २९ दशमलव ७८ विन्दुमा पुगेको हो ।
 

आज सबै समूहको शेयर बढेकोमा जलविद्युत्, फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

नेशनल हाइड्रोपावर कम्पनी, दिव्यश्वरी हाइड्रो, हिमाल दोलखा हाइड्रो, थ्री स्टार हाइड्रो, मन्दाकिनी हाइड्रो, न्यादी हाइड्रो र खानीखोला हाइड्रो तथा स्वाभिमान लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
 

यस्तै छ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै एनआईबीएल ग्रोथ फन्ड र अभियान लघुवित्तको शेयर चार प्रतिशतले ओरालो लागेको छ ।
 

बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । एक करोड १२ लाख कित्ता शेयर तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै सन लाइफ नेपाल इन्सुरेन्स कम्पनीको २० करोड १८ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update