Public Pana
वैदेशिक रोजगार ठगीमा म्यानपावर कम्पनी र व्यवसायीविरुद्ध मुद्दा

विदेश पठाइदिन्छु भनेर ठगी गरेको आरोपमा वैदेशिक रोजगार विभागले विस एचआर सलुसन नामको म्यानपावर कम्पनीका सञ्चालकसहित पाँच जनाविरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ ।
 

विदेश पठाइदिन्छु भनी रकम लिएका ४३ जनालाई विदेश नपठाइ ठगी गरेको आरोपमा विभागले विस एचआर सलुसन, यसका सञ्चालक तुलसी प्रसाद श्रेष्ठ, अमृत श्रेष्ठ, लालबहादुर श्रेष्ठ र कर्मचारी फणिन्द्र कोइरालाविरुद्ध मुद्दा दायर गरेको हो ।

उनीहरुसँग पीडितले तिरेको रकम र हर्जना रकमसमेत गरी ३ करोड ८२ लाख २८ हजार ४९८ रुपैयाँ बिगो माग गरिएको विभागका निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
 

म्यानपावर सञ्चालक र कर्मचारीले विदेश पठाइदिन्छु भनेर विभिन्न व्यक्तिसँग १ लाखदेखि ४० लाख रुपैयाँसम्म ठगी गरेको विभागले जनाएको छ ।
 

विभागले म्यानपावर कम्पनीको इजाजतपत्र खारेज गर्न र पीडितबाट लिएको रकम र उक्त रकमको ५० प्रतिशत हर्जना रकम थप गरेर फिर्ता गर्न मागदाबी गरेको छ ।

त्यस्तै प्रतिवादीहरुलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्षसम्म कैद सजाय पनि माग दाबी गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update