Public Pana
अनुगमनमा निस्कियो महानगरको टोली, आजै  प्रतिवेदन दिने

विद्यालय शिक्षा विधेयकको विरोधमा यतिबेला शिक्षकहरु आन्दोलित छन् । देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएपछि बुधबारदेखि नै आन्दोलन शुरु भएको हो ।

हिजो सार्वजनिक बिदा भएपनि आज बिहीबारदेखि जिल्लामा रहेका शिक्षकहरुले पनि नपढाएपछि सामुदायिक तथा सरकारी विद्यालय ठप्प भएका छन् ।

सरकारी तथा सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएपछि काठमाडौं महानगरपालिकाले अनुगमन थालेको छ ।
महानगरले विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी बुधबार नै दिएको थियो । तर आन्दोलित शिक्षक महासंघले कारबाही गरिएमा प्रतिकार थाल्ने चेतावनी दिएको थियो ।

यसैबीच काठमाडौं महानगरपालिकाले नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वको टोलीलाई विद्यालयमा खटाएको छ । 
विद्यालय बन्द रहेको वा पठनपाठन भइरहेको अवस्था बुझ्न आफूहरु खटिएको पाण्डेले बताएका छन् ।  

आफूहरुले शिक्षकको हाजिरी हेर्ने भन्दा बन्द वा खुला रहेको बुझ्न मात्रै खटिएको उनले बताए । यदि विद्यालय बन्द भएको पाइएमा त्यहाँका प्रधानाध्यापक र शिक्षकहरुलाई महानगरको शिक्षा विभागले कारबाही अघि बढाउने छ ।

महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनमा खटिएको नगरप्रहरीले काठमाडौं महानगरभित्रका ८९ वटा सामुदायिक विद्यालयको बिहीबार नै अनुगमन सकेर प्रतिवेदन दिनेछ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update