Public Pana
एनआरएनले नेपाली नागरिकता लिन विदेशबाटै निवेदन

गैरआवासीय नेपालीले गैरआवासीय नेपाली नागरिकताको प्रमणपत्र लिन विदेशबाटै आवेदन दिन पाउने भएका छन् ।

सरकारले हालै गरेको नागरिकता नियमावलीको तेस्रो संशोधनले गैरआवासीय नेपालीलाई विदेशकै राजदूतावास वा महावाणिज्य दूतावासबाट निवेदन दिन सक्ने व्यवस्था गरेको हो ।

यस्तो नागरिकता लिन चाहने गैरआवासीय नेपालीले आफू वा आफ्नो बाबु, आमा बाजे वा बज्यैमध्ये जसको नेपाली नागरिकताको आधारमा गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिने हो सोही नागरिकताको प्रमाणपत्र जारी भएको जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनुपर्नेछ ।

गैरआवासीय नेपाली नागरिकता लिनका लागि हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको प्रतिलिपि, नेपालको संविधान मान्ने प्रतिवद्धता, विदेशी नागरिकता लिएको प्रमाण आदि कागजात पेश गर्नुपर्नेछ । सार्क राष्ट्रमा बसोबास गर्नेहरुले भने गैरआवासीय नेपाली नागरिकता पाउने छैनन् ।

गैरआवासीय नेपालीले नागरिकताका लागि निवेदन दिएपछि नेपाली दूतावास वा महावाणिज्य दूतावासले १५ दिनभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन पठाउनुपर्नेछ । यसरी निवेदन आएपछि प्रमुख जिल्ला अधिकारीले ती गैर आवासीय नेपालीलाई चिन्ने एक नेपाली नागरिकले सनाखत गर्नुपर्नेछ ।

प्रमुख जिल्ला अधिकारीलाई गैर आवासीय नेपालीले पेश गरेको विदेशको नागरिकता र राहदानीमा शंका लागेमा सम्बन्धित राजदूतावास वा महावाणिज्य दूतावासलाई वैधता जाँच गर्न लगाउन सक्नेछ ।

यसरी वैधता जाँचको निवेदन आएमा १५ दिनभित्र दूतावास वा महावाणिज्य दूतावासले बुझेर जानकारी गराउनुपर्छ ।

गैरआवासीय नेपाली नागरिकता दिनुअघि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित व्यक्तिलाई नेपालको संविधान र कानुन मान्ने प्रतिवद्धता अर्थात शपथ गराउनुपर्नेछ ।

ढाँचा
nagarita-citizenship-gairaaawasiya-nepali-nagarita-NRN-citizen1695285233.jpg

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update