Public Pana
राष्ट्रपति बनेपछि पहिलो पटक गृह जिल्ला जादै  रामचन्द्र पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल शनिबार गृहजिल्ला तनहुँ आउने भएका छन् । राष्ट्रपति बनेपछि पौडेल पहिलोपटक गृहजिल्ला आउन लागेका हुन् ।

व्यास नगरपालिका–३ बिपी वनवाटिकामा निर्माण सम्पन्न भएको सभागृहको उद्घाटनका लागि पर्सि शनिबार असोज ६ गते राष्ट्रपति पौडेल तनहुँको दमौली आउने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
 

उनका अनुसार शनिबार तनहुँको दुई स्थानको कार्यक्रममा सहभागि भई राष्ट्रपति पौडेल काठमान्डौं फर्किने छन् ।

बिहान तनहुँको भानु नगरपालिका १३ स्थित मिर्लुङमा रहेको भंगेरथानमा पूजा गर्ने कार्यक्रम रहेको छ । त्यसपछि राष्ट्रपति पौडेलले दमौलीमा रहेको सभागृहको उद्घाटन गर्ने कार्यक्रम १ बजे तय भएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

साथै सभागृहको आडैमा निर्माण गरिएको बिपी पार्कमा बिपी कोइरालाको शालिकको राष्ट्रपति पौडेलले अनावरण गर्नेछन् ।

करिब ७ सय ५० जना क्षमताको उक्त सभाहल गण्डकी प्रदेशकै ठूलो रहेको मानिएको छ ।
रु २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभाहल श्री डाँफे एमए प्रतिष्ठा जेभी काठमाण्डौले निर्माण गरेको हो ।
करिब छ हजार ५०० वर्गफिट क्षेत्रफलमा दुई ब्लकमा गरी भवन निर्माण गरिएको छ भने लम्बाइ ७५ र चौडाइ ४५ सेन्टिमिटरको बिम निर्माण गरिएको छ । उक्त भवन चार ढलानको बनाइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update