Public Pana
एक सातापछि विदेशी पर्यटकले पाए रामारोशन प्रवेश अनुमति

सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल रामारोशन प्रवेशका लागि विदेशी पर्यटकले अनुमति पाएका छन् ।

यसअघि सम्बन्धित निकायको अनुमतिपत्र नहुँदा स्थानीय प्रशासनले बाटोमै रोकेका विभिन्न देशका २ सय ८३ जना विदेशी पर्यटकले एक सातापछि रामारोशन प्रवेश गर्न पाएका हुन् ।

भिजाका साथै व्यक्तिगत गतिविधि अध्ययन गरेर रामारोशन प्रवेशका लागि सहजीकरण गर्न गृह मन्त्रालयले निर्देशन दिएपछि  रोकिएका पर्यटक गन्तव्यतर्फ गएको अछामका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शरद कुमार पोखरेलले जानकारी दिए ।

‘भिजा भएकाहरुलाई उनीहरुको गतिविधि अध्ययन गरेर गन्तव्य जान दिन सहजीकरण गरेका छौँ,’ उनले भने, ‘धेरै संख्यामा विदेशी पर्यटकहरू आएका तर अनुमति नभएकाले हामीले रोकेका थियौँ ।’

र्यटन क्षेत्रमा सम्मेलनको आयोजनाबारे आफूहरूलाई कुनै जानकारी नभएको र पर्यटनसँग सम्बन्धित कुनै पनि निकायको अनुमतिपत्र नभएकाले विदेशी पर्यटकहरूलाई अछाम प्रशासनले बाटोमा रोकेको थियो । 

अमेरिका, क्यानडा, पोल्यान्ड, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्यान्ड, जापान, भारतसहित ३५ भन्दा बढी देशका तीन हजार हाराहारीमा पर्यटक रामारोशन आउँदै छन् ।

अछाम प्रवेशद्वार चौखुट्टे, बेलखेत र रामारोशन क्षेत्रमा रोकिएका  २ सय ८३ विदेशी पर्यटक गन्तव्यतर्फ लागेका छन् । 
पर्यटक आउने क्रम रोकिएको छैन। वर्ल्ड रेन्वो फेमिली नामक समूहको जमघट कार्यक्रममा रामारोशन घुम्न पर्यटकहरु रहेका हुन् ।

अहिलेसम्म अछाम पुगेकामध्ये अधिकांश भारतीय नाका हुँदै नेपाल प्रवेश गरेका पर्यटक छन् ।

हजारौंको संख्यामा एकैपटक विदेशीले त्यता बस्न चाहँदा सुरक्षा, शौचालयको समस्या, वन्यजन्तुलाई हुने नोक्सानी र फोहोरमैलाजस्ता विषय चुनौती बनेका छन् । 

विदेशी पर्यटकप्रति प्रहरीले सूक्ष्म निगरानी पनि राखेको छ ।

पर्यटकले गैरकानुनी क्रियाकलाप गरेको पाइए तत्काल पक्राउ गरेर कारबाही गरिने जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी सन्तोष पाठकले बताए ।

ramaroshan1695275795.png
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update