Public Pana

शिक्षकहरूको आन्दोलनका कारण आजदेखि देशभरका ७० लाख भन्दा बढी विद्यार्थीहरूको पठनपाठन बन्द हुने भएको छ ।

विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाडौँ आएसँगै विद्यार्थीहरूको पठनपाठन प्रभावित हुने भएको हो । 
 

नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरका शिक्षक, कर्मचारीहरू आन्दोलनका लागि काठमाडौँ आएका छन् । 
 

हिजो संविधान दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको थियो । आजदेखि अनिश्चितकाल सम्मका लागि देशभरका सामुदायिक विद्यालय बन्द हुन लागेका हुन् ।
 

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले शिक्षक कर्मचारी आन्दोलनका लागि काठमाडौँ आएकोले सम्पूर्ण विद्यालयको पठनपाठन अवरुद्ध हुने बताए ।
 

आन्दोलनका कारण रोकिएको पढाइ पछि सार्वजनिक बिदामा पढाउने गरि व्यवस्था मिलाइएको उनको भनाइ छ ।

‘जति कार्यदिन बन्द हुन्छ । त्यति दिन पछि पढाउँछौ। आन्दोलनभर पूर्णरूपमा विद्यालय बन्द रहनेछन्’ महासचिव सुवेदीले भने । 
 

सरकारकै कारण काठमाडौँ आएर आन्दोलन गर्नुपरेको भन्दै विद्यार्थीहरूको पढाईमा कुनै समस्या नपार्ने उनले बताए ।

आन्दोलनको पहिलो दिन हिजो ७० हजारको हाराहारीमा शिक्षकहरु प्रदर्शनमा उत्रिएका थिए ।
 

यो संख्या आज झन बढ्ने महासचिव सुवेदीको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update