Public Pana
विद्यालय बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।

विद्यालय बन्द गरेर विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । 

“विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन। विद्यालय खुल्छन्। महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुला गर्न आग्रह गरिएको छ”, उनले भने । 

महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ ।

आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भएपनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने प्रवक्ता मानन्धरले बताए ।

यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरुलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो ।

विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि  पनि दिइएको थियो ।
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update