Public Pana
कांग्रेसले थाल्यो संसदीय दलको नेता चयन प्रक्रिया, सातै प्रदेशमा सरकार बनाउन प्रदेश समितिलाई जिम्मा

नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया सुरु गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । समितिमा पुष्पा भुसाल र प्रकाश स्नेही सदस्य छन् । समितिले अब दलको नेता छान्न निर्वाचनको मिति तोक्नेछ ।

बैठकमा चाँडै संसदीय दलको नेताको चुनाव गर्नेबारे छलफल भएको छ। यसअघि कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस संसदीय दलको नेताको चुनाव आगामी बुधबार हुने बताएका थिए ।

यस्तै, कांग्रेसले प्रदेश सरकारका विषयमा आवश्यकता रणनीति बनाउन तथा अन्य दलहरूसँग वार्ता गर्न प्रदेश समितिलाई अधिकार दिएको छ । कार्यसम्पादन समितिको बैठकले प्रदेश समितिलाई यस्तो अधिकार प्रत्यायोजन गरेको बैठकपछि पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । 

प्रदेश संसदीय दल र प्रदेशमा सरकार बनाउने विषयमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा अन्य दलहरूसँग छलफल गर्न निर्देशन दिएको उनले बताए । केन्द्रको यो निर्णयसँगै अब कांग्रेस प्रदेश कार्यसमितिहरूले आ आफ्नो प्रदेशमा संसदीय दलको नेता चयन र सरकार बनाउन बाटो खुला भएको छ ।


प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update