Public Pana

काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालन शुभारम्भ गरिएको छ ।

संविधान दिवसको अवसर पारेर भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको रत्नपार्क सडक खण्डमा सुरु गरिएको द्रुत बस सेवाको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शुभारम्भ गर्नुभयो ।

१३ दशमलव ४ किलोमिटरको उक्त सडक खण्डमा द्रुत बस सेवा सञ्चालनका लागि यसअघि नै मार्किङको काम सम्पन्न भइसकेको छ ।

द्रुत बस सेवा सञ्चालन शुभारम्भ गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले पहिलो चरणमा सुरु गरिएको द्रुत बस सेवालाई उपत्यकाका अन्य स्थानमा पनि विस्तार गरिने बताउनुभयो ।

उहाले द्रुत बस सेवालाई अवरोध नपुग्ने गरि निरन्तरता दिनका लागि निरन्तर अनुगमन र सरोकारवालासंग छलफल गर्ने जानकारी दिनुभयो ।

त्यस्तै मन्त्री ज्वालाले दशै तिहार जस्ता चाडपर्वलाई मध्यनजर गर्दै यातायातलाई सुव्यवस्थीत गर्नका लागि योजनाबद्ध रुपमा अघि बढ्ने धारणा राख्नुभयो । 

उहाले यातायात कार्यालयमा अनलाईन सेवालाई देशव्यापी बनाउदै सहज रुपमा सेवा प्रदान गर्ने गरि काम अघि बढेको जानकारी दिनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सार्वजनिक यातायात सहज नहुदा निजि यातायातलाई प्रयोग गर्नुपरेको भन्दै यस क्षेत्रलाई व्यवस्थीत गर्दै सहज बनाउनुपर्ने बताउनुभयो ।

उहाले सार्वजनिक सेवाको सुधारको कामलाई दिर्घकालिक रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले साना गाडीको संख्या बढ्दा सडक व्यवस्थापनमा चूनौति देखिने भन्दै सार्वजनिक यातायातमा आकर्षण बढाउनुपर्ने बताउनुभयो ।

त्यस्तै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौ उपत्यकामा देखिएको यातायात व्यवस्थापनको चूनौतिलाई समाधान गर्नुपर्ने बताउनुभयो । उहाले सार्वजनिक सेवाप्रति आकर्षित गर्ने कामलाई दिगो बनाउनुपर्ने बताउनुभयो । 

कार्यालय समयलाई ध्यानमा राख्दै द्रुत बस सेवा दैनिक बिहान ९ बजेदेखि ११ बजे र साँझ ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुनेछन् ।

सो समयमा रेड मार्किङ गरेको सडकमा द्रुत बस बाहेक अन्य सवारी साधन गुड्न नपाउने यातायात कार्यालयले जनाएको छ ।

द्रुत बससेवाको सम्भाव्यता अध्ययनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सडक विभागका महानिर्देशकको संयोजकत्वमा समिति बनाएको थियो । 

समितिले प्रारम्भमा सूर्यविनायक–रत्नपार्क खण्डमा परीक्षणको रुपमा द्रुत बससेवा सञ्चालन गर्न सकिने सुझाव दिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update