Public Pana
राष्ट्रपति पौडेलको जनकपुरधाम भ्रमण तथा नागरिक अभिनन्दनलाई भव्य र सभ्य बनाउन सबै दल सहमत

 राष्ट्रपति रामचन्द्र पौडेलको यही असोज ८ गतेका लागि तय भएको जनकपुरधाम भ्रमण तथा नागरिक अभिनन्दन कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै दल सहमत भएका छन् ।  

जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा आज भएको सर्वदलीय सर्वपक्षीय बैठकले राष्ट्रपतिका रूपमा पहिलो पटक जनकपुरधाम आउन लाग्नुभएका पौडेलको भ्रमणलाई व्यवस्थित बनाउनुका साथै नागरिक अभिनन्दनलाई भव्यरूपमा सफल पार्न सबै दल सहमत भएको उपमहानगर प्रमुख मनोजकुमार साहले जानकारी दिनुभयो । 

उहाँले सबै प्रतिनिधिसभा सांसद र प्रदेशसभा सदस्यसहितको मूल समिति र अन्य उपसमितिहरू बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पूजापाठदेखि नागरिक अभिनन्दनको तयारी गर्ने निर्णयसमेत गरिएको बताउनुभयो ।  

“जनकपुरधाम विमानस्थलबाट जानकी मन्दिर र मन्दिरदेखि कार्यक्रमस्थलसम्म सडकको दुवै छेउमा राष्ट्रिय झण्डासहित उभिएर नागरिक अभिन्दन गर्न सबै दलले आआफ्नो कार्यकर्ता र स्थानीय समाजलाई परिचालन गरिने निर्णय भएको छ”, नगरप्रमुख साहले भन्नुभयो । 

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकताविहीन लाखौँ युवाको समस्या समाधान गरी जनकपुरधाम आउन लाग्नुभएका राष्ट्रपति पौडेललाई मधेसवासीले भव्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबै दलले सहमति जनाएको बताउनुभयो । 

बैठकमा प्रतिनिधिसभा सांसद निधि, जुलीकुमारी महतो (एमाले), सांसद रामकृष्ण यादवसहित जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललगायत राजनीतिक दलका प्रदेश तथा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता  थियो । 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  २१:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update