Public Pana
रामारोशन हिँडेका विदेशी पर्यटकलाई प्रशासनले जान दिएन,  केन्द्रको निर्णयको पर्खाइ

सुदूरपश्चिमको प्रसिद्ध पर्यटकीय स्थल रामारोशन घुम्न आएका विदेशी पर्यटक बाटोमै रोकिएका छन्।

जिल्ला प्रशासन कार्यालय अछामले रामारोशन घुम्न गइरहेका पर्यटकलाई बाटोमै रोकेको हो।

रामारोशन जानका लागि अनुमति नलिएकाले विभिन्न देशका दुई सय भन्दा बढी पर्यटकलाई रोकेको अछामका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शरद कुमार पोखरेलले जानकारी दिए।

‘रामारोशन जानका लागि अनुमति छैन, उनीहरुसँग भिजा मात्रै छ, जमघट कार्यक्रमको बारेमा पर्यटन मन्त्रालय र पर्यटन बोर्ड कसैलाई जानकारी छैन,’ सीडीओ पोखरेलले भने, ‘ठूलो संख्यामा  महिना दिनभन्दा बढी बस्ने भएपछि हामीले सुरक्षाको दृष्टिले रोकेका हौँ।’

अमेरिका, क्यानडा, पोल्याण्ड, इटली, रसिया, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मन, थाइल्याण्ड, जापान, भारतसहित ३५ भन्दा बढी देशका पर्यटक रामारोशन आउँदैछन्।

सोमबारसम्म २०२ जना पर्यटक अछाम पुगेका छन्। कोही अछाम प्रवेशद्वार चौखुट्टे र कोही रामारोशन नजिकै रोकिएका छन्।

पर्यटकहरु बाटोमै त्रिपाल टाँगेर बसेका छन्।
 

रामारोशन हिँडेका उनीहरुलाई प्रशासनले रोकेपनि पर्यटक आउने क्रम अझै रोकिएको छैन।

वर्ल्ड रेन्वो फेमिली नामक समूहको जमघट कार्यक्रममा रामारोशन घुम्न पर्यटकहरु आइरहेका हुन्।

अहिलेसम्म अछाम पुगेकाहरुमध्ये अधिकांश भारतीय नाका हुँदै नेपाल प्रवेश गरेकाहरु छन्।

हजारौंको संख्यामा एकैपटक विदेशीले त्यता बस्न चाहँदा सुरक्षा, शौचालयको समस्या, वन्यजन्तुलाई हुने नोक्सानी र फोहोरमैला जस्ता विषय चुनौती छन्।

जिल्ला प्रशासन कार्यालय अछाम पर्यटकलाई रामारोशन जान दिने-नदिनेमा केन्द्रको निर्णयको पर्खाइमा छ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update