Public Pana
गलाको सिक्री लुटपाट :  लुट्नेदेखि किन्नेसम्म समातिए

काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरुमा दिउँसोको समयमा सुनको सिक्री लुटपाट गर्ने गिरोहका सदस्यहरु पक्राउ परेका छन् । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लुटपाटमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बागबजारका ४४ वर्षीय सुरज गुरुङ, पर्साको वीरगञ्ज नगरपालिका–१७ घर भइ काठमाडौं क्षेत्रपाटी बस्ने ४८ वर्षीय अनवर हुसेन अन्सारी, भारतको पश्चिम बंगाल मेधिनापुर जिल्ला उदयचोक घर भइ काठमाडौं बस्ने ४७ वर्षीय शक्ति भौमिक र भारतकै महाराष्ट्रय राज्य सोनापुर जिल्ला गोरडवानी घर भइ काठमाडौं प्युख्या बस्ने ३० वर्षीय सचिन गाड्वे छन् ।

उनीहरुमध्ये सुरज सिक्री लुट्ने बेलामा मोटसाइकल चलाउने व्यक्ति हुन् भने उनले चलाएको मोटसाइकलको पछाडि बसेर सिक्री लुट्ने व्यक्ति अनवर हुन् ।

शक्ति भने लुटपाट गरिएको उक्त सिक्री बेच्न सहयोग गर्ने व्यक्ति हुन् भने सचिन सुन खरिद गर्ने व्यक्ति रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

यो समूहले पछिल्लो समय भदौ २५ गते अन्दाजी दिउँसो सवा पाँच बजेतिर कुलेश्वर आवास क्षेत्रको सडक किनारमा हिँड्दै गरेकी अप्सरा श्रेष्ठले गलामा लगाएको सिक्री लुटेका थिए ।

काभ्रेको पाँचखाल नगरपालिका–१२ घर भइ काठमाडौं बस्दै आएकी अप्सराको सिक्री लुटपाटको घटना अनुसन्धान गर्ने क्रममा सुरुमा प्रहरीले सुरजलाई पक्राउ गरेको थियो ।

उनकै माध्यबाट थप व्यक्तिलाई पक्राउ गरेर सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update