
अमेरिकामा अर्को वर्ष हुने अस्कर अवार्डको ९६औं संस्करणका लागि यसपालि विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ छनोट भयो ।
नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले उक्त फिल्मलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूको सुखद् यात्रा गरेको यो फिल्म गत वैशाखमा प्रदर्शन भयो ।
तर हलहरूमा ‘हल्कारा’ले सुखद् अनुभव बटुल्न सकेन। समीक्षकहरूबाट प्रशंसा पाएको यो फिल्मले पर्याप्त दर्शक नपाउँदा छोटो समयमै हलबाट उत्रिनु पर्यो ।
यद्यपि फिल्मले सिनेमाप्रेमीहरूमाझ राम्रो छाप छाड्यो ।
यसपालि अस्करमा छनोट भएपछि फिल्मका निर्देशक विक्रम सापकोटा र अभिनेता महेश त्रिपाठीले सामाजिक सञ्जालमार्फत् खुसी व्यक्त गरेका छन्। ‘रोमाञ्चक समाचार साझा गर्न पाउँदा हामी खुसी छौं । हामी छनोट समितिलाई हार्दिक आभार व्यक्त गर्दछौं र चलचित्र जगतमा यो उल्लेखनीय उपलब्धिको लागि सम्पूर्ण कलाकार, टोली र निर्माण टोलीलाई बधाई दिन्छौं,’ निर्देशक सापकोटाले लेखेका छन् ।