Public Pana
निलम्बित प्रधानन्यायाधीशको बयान बिहीबार पुनः लिइने

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले महाभियोग सिफारिस समितिको बैठकमा आज उपस्थिति भएर बयान दिएका छन्।

बयानको पहिलो दिनमा चार प्रश्नमा मात्र छलफल भएको छ भोलि बिहीबार पुनः११ बजे बयान हुने तय भएको छ । 

बयानपछि सांसद लालबाबु पण्डितले बयानको प्रारम्भ भएको र राणामाथि लागेको आरोपका विषयबाट बयान प्रारम्भ गरिएको जानकारी दिए। ‘उहाँमाथि लागेका आरोपका विषयबाट बयान सुरुआत भयो’, उनले भने, ‘प्रश्न, प्रतिप्रश्न आज चारघण्टाजति छलफल भयो, खासगरी न्यायापालिकामा हुने भ्रष्टाचार, समयमा न्यायनिरुपण नभएको, विचौलियाको प्रयोग भएको जस्ता विषयमा प्रश्न गरिएको थियो ।’

निलम्बित प्रधानन्यायाधीश राणाका लागि बयान लिन समितिले ४३ वटा प्रश्न तयार तयार गरेको छ । आज चार वटा प्रश्नमाथि मात्र छलफल भएको छ । बयानपछि समितिमा सांसद मीन विश्वकर्माले पनि बयान प्रारम्भ भएको र त्यसको निष्कर्ष आउन समय लाग्ने जानकारी दिँदै निलम्बित प्रधानन्यायाधीश जबराले आफू दोषी नभएको तर सबैले आफूमाथि एक पक्षीयरुपमा आरोप लगाएको बयान दिएको बताए।

छ महिनाभन्दा बढीदेखि निलम्बनको अवस्थामा रहेका राणाको महाअभियोग प्रमाणित हुने वा नहुने विषयले तीन महिनामै निष्कर्ष आउनुपर्ने भए पनि लामो समयपछि समितिमा छलफल प्रारम्भ भएको छ । उक्त समितिको यही भदौ ८ गते बसेको बैठकले उहाँलाई बयानका लागि बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार राणा आज बयानका लागि समितिमा उपस्थित भएका हुन्। 

राणाविरुद्ध गत फागुन १ मा प्रतिनिधिसभाका ९८ सांसदले महाभियोग प्रस्ताव दर्ता गरेका थिए। संसद्ले महाभियोग सिफारिस समिति गठन गरे पनि यहीँ भदौ १ गते पहिलो बैठक बसेको थियो।

राणाविरूद्ध नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनले महाअभियोग पुष्टि गर्न ३४ बुँदे पत्र समितिलाई बुझाएको थियो । उक्त पत्रमा महाअभियोग लगाउने आधार र कारणसमेत समेटिएको छ । समितिले निलम्बनमा परेका प्रधानन्यायाधीशलाई प्रश्न सोध्ने र राणाले प्रश्नको जवाफ दिनेक्रम बिहीबार पनि हुनेछ। 

आज बैठकमा निलम्बित प्रधानन्यायाधीश राणा १०:४५ बजे नै ११ बजेको बयानका लागि सिंहदरबार पुगे पनि बैठक कसरी अघि बढाउने भन्ने विषयमा समितिमा छलफल गर्दा करिब एक घण्टा ढिला बयान प्रारम्भ भएको थियो।

प्रधानन्यायाधीशको पहिलो दिनको बयानपछि के भन्छन् सांसदहरू?

नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले महाअभियोग नै निष्क्रिय भइसक्यो भन्नुको कुनै तुक नरहेको बताएका छन्।

बुधबार सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुगेका निलम्बित प्रधानन्यायाधीश जबराले बयानका क्रममा महाअभियोग प्रस्ताव नै संविधान बमोजिम अघि नबढ्दा निष्क्रिय बनिसकेको बयान दिएको भन्दै सांसद पोखरेलले यसको अर्थ नरहेको बताएका हुन्।

उनले महाअभियोग प्रस्तावमा नै प्रधानन्यायधीश जबरा बयानका लागि आएको उल्लेख गर्दै प्रधानन्यायाधीशले यस्तो भन्नुको तुक नरहेको बताए।

‘उहाँले डेढसय प्रश्नको जवाफ दिन जरुरी छ। त्यसबाट जे निष्कर्ष निस्कन्छ, तथ्य प्रमाणका आधारमा निर्णयमा पुग्छौँ। यो प्रश्न नै ३/४ दिनसम्म लगातार जान्छ। उहाँले निष्क्रिय भयो भन्ने अवस्था छैन’, उनले भने, ‘महाअभियोग प्रस्तावमा नै उहाँ आइरहनुभएको छ भने त्यो भन्नुको अर्थ रहँदैन। संसद सकिएपछि मात्रै के हुने हाने भन्ने प्रश्न हुन्छ। संसद रहुन्जेलसम्म निष्क्रिय भयो भन्ने कुरा हुँदैन।’

उनले प्रधानन्यायाधीशको बयानमा समिति सदस्यले प्रतिप्रश्न गर्दा ४ वटा मात्रै प्रश्नको जवाफ आएको भन्दै बयानको समय ३/४ दिनसम्म लगातार चल्ने बताए। सांसद पोखरेलले प्रधानन्यायधीश जबराबिरूद्ध तीन महिनाले पनि नपुग्ला कि भन्ने तथ्यहरु आइरहेको उल्लेख गरे। उनले गठबन्धनले ढिलो गरेको र पारित गर्नलाई ल्याएको होइन कि भन्ने आशंका लागेको बताए। ‘हामीसँग समयावधि पुग्दैन। तीन महिनाले पनि नपुग्ला की भन्ने तथ्यहरु आइरहेका छन्,’ उनले भने।

बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले प्रधानन्यायाधीश जबराले बयानका क्रममा आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशहरुसँग पनि बयान लिनुपर्ने कुरा राखेको बताए।

उनले न्यायाधीशले ल्याएका गलत कुराहरुमा सहभागी नबन्दा आफूबिरुद्ध महाअभियोग लगाइएको कुराहरु प्रधानन्यायाधीश जबराले राखेको बताए।

‘हामीले राखेका ४ प्रश्नको जवाफ दिनुभयो । साथै त्यसमा प्रतिप्रश्नहरु पनि भए । जवाफ आएकाको प्रमाण जुटाउने र उहाँले लिएका व्यक्तिहरुसँग पनि बयान लिनुपर्ने हुन्छ । अहिले नै ठिक, बेठिक र सन्तुष्टि र असन्तुष्टिको कुरा होइन। उहाँले बयानका क्रममा आफूसँग हरेक समय गलत गराउन चाहनुभएका न्यायाधीशलाई पनि बोलाएर बयान लिनुपर्ने कुरा राख्नुभएको थियो’, उनले भने, ‘बयानमा उहाँले भन्नुभएको थियो तर पनि मैले न्यायपालिकाको नीति र सिद्धान्तलाई आधार मानेर मैले गलत गर्न चाहिन । त्यसैले यस्ता कुराहरु मप्रति महाअभियोग आयो । अदालतकै श्रीमानहरुको नाम लिनुभएको छ । मैले ९९ प्रतिशत न्यायपालिकाका न्याायधीश तपाईको बिरुद्धमा गए यसको कारण के थियो भन्ने प्रश्न गरेँ।’

बैठकपछि बोल्दै नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले संसदलाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त नबुझेर महाअभियोग लगाएको र महाअभियोग प्रस्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त नबुझ्दा प्रधानन्यायाधीश जबराले प्रस्तावकमाथि प्रश्न गर्नु सामान्य भएको बताए। उनले शुरूको दिन भएर लामो समय लागेको र आगामी दिनमा प्रक्रिया चाँडो अघि बढ्ने बताए। उनले प्रधानन्यायाधीशले गोलमटोल जवाफ दिएको बताए।

‘संसदलाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त बुझेन र महाअभियोग प्रस्ताव दर्ता गर्नुभयो, महाअभियोग प्रस्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त बुझेन प्रस्तावकमाथि प्रश्न गर्नुभयो’, उनले भने, ‘शुरूको दिन भएर एउटै प्रश्नमा प्रतिप्रश्न आउँदा ढिलो भएको हो, भोलिबाट छिटो हुन्छ । गोलमटोल जवाफ दिनुभएको छ ।’

बैठकपछि बोल्दै नेकपा एमालेका सांसद विष्णु पौडेलले छलफल यो प्रक्रियाभरका सबै सामग्री अफिसियल रेकर्ड गरिएको र वेबसाइटमा राखिने जानकारी दिए।

उनले नेकपा एमाले सञ्चारमाध्यमलाई सँगै राखेर छलफल गर्ने पक्षमा रहेपनि समिति सभापति र अन्य सांसदहरु नमानेपछि प्रक्रियाभरका छलफलका भिडियो सामग्री वेबसाइटमा राख्न सहमति जुटेको बताए। 

‘आज महाअभियोग समितिको बैठक बस्यो । भोलि ११ बजेबाट फेरि जारी रहन्छ। हामिले आजका बैठकमा गरेका सबै छलफल यो प्रक्रियाभरका सबै सामग्री अफिसियल रेकर्ड छ, त्यो रेकर्ड तत्काल पाउनुहुन्छ’, उनले भने, ‘वेबसाइटमा राख्ने सल्लाह छ । नेकपा एमाले सञ्चारमाध्यमलाई सँगै राखेर छलफल गर्ने पक्षमा नेकपा एमाले थियो तर सभापति र केही समितिका साथीहरुले नमानेपछि बाहिर राखेका हौँ ।’

बैठकपछि बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्ने धाराणा राखिन। उनले आजको बैठकले बयानको समय लम्बिने निश्चित भएको बताइन्। 

सांसद शर्माले अबको दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा समितिमा छलफल गरेर निर्णय गर्ने बताइन्। उनले बयानका क्रममा प्रधानन्यायाधीश जबराले नेपाल बार, पूर्व प्रधानन्यायाधीश र न्यायधीशहरुमाथि प्रश्न उठाएको पनि बताइन्।

‘महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्छ। हचुवाको भरमा गर्ने कुरा रहँदैन। आजको बैठकले समय अलि लाग्छ भन्ने नै देखियो। हामी समितिमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्नेछौँ । उहाँले राजनीतिक दल मात्रै होइन, नेपाल बार एशोसिएशन, पूर्व प्रधानन्यायाधीश सबैप्रति प्रश्न उठाउनुभएको छ । उहाँले सबै एकातिर हुँदा म एक्लो वृहस्पिति भएँ भन्ने कुरा गर्नुभयो,’ उनले भनिन्। 

प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग सुनुवाई गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बिहीबार ११ बजे बस्नेछ। 

प्रकाशित मिति: बुधबार, भदौ १५, २०७९  २१:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update