Public Pana
दीपशिखाको विषय समाधान हुने क्रममा रहेको दक्षिण कोरिया दूतावासको भनाई

दक्षिण कोरियास्थित नेपाली राजदूतावासले नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ कोरियामै रोकिएको समस्या समाधान हुने क्रममा रहेको बताएको छ ।

आज मंगलबार दिउँसो एक प्रेस नोट जारी गर्दै दूतावासले सउलस्थित नेपाली राजदूत ज्योति प्याकुरेलले दीपशिखासँग मगाएको औषधी चिकित्सकको प्रेस्क्रिप्सनबिना भएकाले उनीमाथि कोरियाली अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएको छ ।

‘भन्सार अधिकारीको माग बमोजिमका कागजातहरू दूतावासले सम्बन्धित अधिकारीहरूलाई बुझाइसकेको कारण सो समस्या समाधान हुने अन्तिम क्रममा रहेको जानकारी गराइएको छ,’ प्रेस नोटमा भनिएको छ ।

गत अगस्ट १० मा कोरिया गएका दीपशिखाको साथमा चिकित्सकको प्रेस्किप्सन बिनाको औषधी भेटिएपछि कोरियाली प्रहरीले अनुसन्धान थालेको थियो ।

दीपशिखाले उक्त औषधी कोरियास्थित नेपाली राजदूत ज्योति प्याकुरेलका लागि लगिदिएका थिए।  राजदूत प्याकुरेललाई एन्जाइटीको समस्या छ ।

पहिलेदेखि नै नेपाली चिकित्सकले सुझाएको औषधी खाइरहेकी उनले दीपशिखासँग पनि त्यही औषधी मगाएकी थिइन ।
इन्छन अन्तर्राष्ट्रिय विमानस्थलमा दीपशिखाले बोकेको औषधीको प्रेस्क्रिप्सन नभएपछि कोरियन अधिकारीहरूले रोकेका थिए ।

राजदूतले मगाएको औषधी बोकेका दीपशिखा कोरियाली अध्यागमनमा रोकिएपछि दूतावासले उनलाई छुटाउन पहल गरेको थियो ।

दूतावासको अनुरोधपछि दीपशिखा औषधी अध्यागमनमै छोडेर विमानस्थलबाट बाहिर निस्किन पाएका थिए ।
उनमाथिको अनुसन्धान अझै सकिएको छैन ।

अनुसन्धान नसकिएसम्म दीपशिखाले कोरिया छोड्न पाउने छैनन् ।

दीपशिखाले फेसबुकमा स्टाटस लेख्दै राजदूतलाई सहयोग गर्दा आफूलाई अप्ठ्यारो परेको बताएका छन् ।

korea-1695111311.jpg

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update