Public Pana
१३ खर्बको विद्युत निर्यात गरेर व्यापार घाटा अन्त्य हुनेमा विश्वस्त रहेको गभर्नर अधिकारीको दाबी

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालबाट वार्षिक १२÷१३ खर्ब रुपैयाँको विद्युत निर्यात भई व्यापार घाटाको अवस्था अन्त्य हुने दाबी गरेका छन् ।
 

आज सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) सँगको भेटमा गभर्नर अधिकारीले वार्षिक १२÷१३ खर्ब रुपैयाँको विद्युत निर्यात हुने र उक्त परिमाणको विद्युत निर्यात गर्न विकास गर्नुपर्ने विद्युत आयोजनाको लागि लगानीमा समस्या नहुने समेत बताएका हुन् । 
 

इप्पान अध्यक्ष गणेश कार्कीले बैंकले विद्युत आयोजनामा लगानी गर्न नसकेको भन्दै बैंक तथा वित्तीय संस्थालाई आफ्नो कुल लगानीमा २० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्ने पर्ने व्यवस्था गरिदिन गभर्नर अधिकारीसँग आग्रह गरेका थिए । 
 

जवाफमा अधिकारीले बैंकसँग लगानीको समस्या नरहेको र १० वर्षमा २० हजार मेगावाट उत्पादन गर्दा पनि लगानीको समस्या नहुने बताएका हुन् । 
 

इप्पानले भने तत्कालै करिब ३ हजार ७०० मेगावाट (१ हजार ५०० मेगावाट आरओआर र २ हजार २०० मेगावाट पिआरओआर) क्षमताका आयोजना विकास गर्दा आउँदो ५ वर्षमा झण्डै ५५५ अर्ब, नेपाल भारतबीच भएको विद्युत निर्यातको सम्झौतासमेत जोड्ने हो भने १० वर्षमा झण्डै २ हजार ५५ अर्ब र ऊर्जा दशकको घोषणा अनुसार २५ हजार मेगावाट थप उत्पादन गर्ने भएमा ३ हजार ७५० अर्ब रुपैयाँभन्दा बढी लगानीको आवश्यक्ता पर्ने देखाएको छ ।
 

राष्ट्र बैंकले २०० मेगावाटभन्दा ठूला आयोजनालाई आधारदरमा १ प्रतिशत मात्र थप गरी कर्जा प्रवाह गर्ने व्यवस्था गरिरहेकोले उक्त व्यवस्था सबै जलविद्युत आयोजनामा कार्यान्वयन गरिदिन इप्पानले आग्रह गरेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update