Public Pana

ऋषि पञ्चमीको इतिहास हजारौँ वर्ष पुरानो छ र त्यतिकै पुरानो छ वैदिक सनातन संस्कारले नारीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अधिकारलाई दिएको महत्त्वको इतिहास ।

नारीलाई रजस्वलाको दिनहरूलाई चार वटा देवीहरू अनुरूप तुलना गर्ने चलन छः प्रथम दिन चण्डालिनी, दोस्रो दिन ब्रह्मधातिनी, तेस्रो दिन धोबिनी र चौथो दिन स्नान गरी शुद्ध हुने चलन छ ।

शास्त्रहरूले पनि रजस्वला र महिलाहरूको यस प्राकृतिक गुणप्रति समस्त मानव जगको ध्यानाकर्षण गर्न ऋषि पञ्चमीको परिकल्पना गरेको हुनपर्दछ । गर्भाधान नभएका डिम्बहरू महिलाको गुप्ताङ्ग बाट निष्कासित हुने सरल र सामान्य प्रक्रिया नै रजस्वला हो ।

यसलाई कुनै दोष भन्दा पनि एउटा विशेष क्षमता र सृष्टिको कारकका रूपमा अभिव्यक्त गर्दै आजका दिनमा रजस्वलालाई नितान्त सामान्य अनि छुवाछुत भन्दा पनि सरसफाइलाई प्राथमिकता दिँदै, महिलाहरूलाई यस अवधिभर आराम र ख्याल गर्ने वातावरण सृजनाको प्रतिबद्धता कायम गर्न जरुरी छ ।


आजको दिन नारीहरूले उपमार्ग अर्थात् एउटा विशेष प्राकृतिक जडीबुटी गुण युक्त वनस्पतिको प्रयोग गरेर बिहान आफ्नो नित्यकर्म सकाएपछि दाँत माँज्ने र चपाउने गर्दछन्, उपमार्ग नेपाली माटोमा सहज रूपले उपलब्ध एउटा वनस्पति हो । संस्कृत शब्द उपमार्ग भन्नाले रोग नाशक भन्ने बुझाउँदछ । १०८ वटा उपमार्गका डाँठका टुक्राहरुको प्रयोग गरेपछि आफ्नो शरीरमा माटोको प्रयोग गरेर नारीहरूले नजिकैको खोलानाला या तालतलैयामा गएर स्नान गर्ने गर्दछन् । स्नान गरिसकेपछि पञ्च भाग्य अर्थात् दूध, दही, घ्यू, दुवो, कुश र गोवर मिसाएर तामाको भाँडोमा राखिएको कुराको एक वा दुई थोपा सेवन गर्ने सनातन चलन पनि चली आएको छ ।


पञ्च भाग्यको सेवनले क्षयरोग अनि चर्मरोगहरु नहुने र भएको भए पनि निको हुने विश्वास रहेको छ । यसरी बिहानै स्नान गरेर शरीर र आत्माको शुद्धि गरिसकेपछि नारीहरूले दियो, कलश अनि गणेश स्थापित गरेर विभिन्न भजन र प्रार्थना गर्दै कश्यप, आरती, भार्गदोज, विश्वामित्र, गौतम, जमदग्नि अनि वशिष्ठलगायतका ऋषिहरूको पूजा र आव्हान गर्ने गरिन्छ ।

त्यसपश्चात् ब्राह्मणले रीतिअनुसार पूजा अर्चना गरेपछि मात्र ऋषि पञ्चमीको अनुष्ठान पूर्ण हुन्छ ।

आजका दिन काठमाडौँ टेकुको ऋषेश्वर मन्दिर लगायत देशभरिका विभिन्न ऋषि आश्रमहरूमा विशेष घूँइचो लाग्ने गर्दछ । यस दिन नारीहरूले आफ्नो सौभाग्यका सूचक सिन्दूर पोते अनि चुरा धागोहरू चढाउने चलन पनि छ । आजको दिन विशेषतः माटोमा कसैले नरोपेरै आफै प्राकृतिक रुपमा उम्रिएका कुराहरू जस्तै कर्कलालगायतका अन्य कन्दमूलको विशेष तरकारी बनाई सेवन गर्ने चलन छ ।

नारीहरू भनेको माया र शक्तिका प्रतिमूर्तिहरू हुन र देवीहरू हुन त्यसैले त शास्त्रले पनि नारीलाई यसरी वर्णन गरेको छः
या देवी सर्वभूतेषु शक्तिरूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।
या देवी सर्वभूतेषु ज्ञानरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।
या देवी सर्वभूतेषु एश्वर्यरूपेण संस्थिता।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।।

 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  ०६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update