Public Pana
चीनबाट आएको टोली राजनीतिक भेटघाटमा व्यस्त

उत्तरी छिमेकी चीनको एउटा उच्चस्तरीय टोली अहिले नेपाल भ्रमणमा छ । 

भूराजनीतिक हिसाबले रणनीतिक स्थानमा रहेको नेपालमा पछिल्लो समय अमेरिकी अधिकारीहरुको सक्रियता बढिरहेका बेला चीनले पनि आफ्नो टोली विभिन्न समयमा पठाइरहेको छ ।

आर्थिक सहायता परियोजना एमसीसी कार्यान्वयनमा गएसँगै अहिले अमेरिकी अधिकारीहरुले नेपालमा उपस्थिति बढाइरहेका छन् । 

यसबीचमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को युन्नान प्रान्तका स्थायी समिति सदस्य चङ्ग यान नेतृत्वको टोली काठमाडौंमा अवतरण गरेको छ। 

चीनको छोइछिङ सहरबाट पोखरा र लुम्बिनीमा सिधा हवाई उडानका लागि एमाले महासचिवको प्रस्ताव
युन्नान प्रान्तमा पार्टी प्रचार विभाग प्रमुखसमेत रहेकी यान नेतृत्वको ९ सदस्यीय टोली सोमबार बिहान ११.१५ बजे बजे छङ्तुबाट काठमाडौंमा उत्रिएको हो। 

यो टोलीले सोमबार काठमाडौंमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग भेटवार्ता गरेको छ। उक्त टोली र उपराष्ट्रपति यादवबीचको भेटवार्ताबारे विस्तृत विवरण आइसकेको छैन। 

उपराष्ट्रपति यादवसँग संवाद गरेपछि चिनियाँ भ्रमण टोली अहिले पर्यटकीय क्षेत्र ठमेल पुगेको छ। 
राजनीतिक भेटघाटसँगै सांस्कृतिक र पुरातात्विक क्षेत्र पनि यो टोलीले अवलोकन गर्दैछ। मंगलबार बिहान यो टोलीले भक्तपुर दरबार स्क्वायर अवलोकन गर्ने कार्यतालिका छ।

मंगलबार नै दिउँसो चिनियाँ टोलीले गठबन्धन सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग द्विपक्षीय भेटवार्ता गर्ने तयारी छ।

टोलीले नेपालका सञ्चारमाध्यमको पनि अवलोकन गर्ने भएको छ । यो टोलीले बुधबार सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनको अवलोकन गर्नेछ ।

त्यसपछि यो टोली सिंगापुर हुँदै चीन फर्किने भएको छ । पछिल्लो समय चीनको युन्नान सहर पर्यटकीय र सांस्कृतिक केन्द्र बन्दै गएको छ 

युन्नानको राजधानी कुन्मिङ नेपालसहित दक्षिण एसियाली राष्ट्रहरुसँग सम्बन्ध कायम गर्ने हव बनिरहेको छ । 
पछिल्लो समय युन्नान प्रान्तीय  सरकारले भियतनाम, कम्बोडिया, म्यानमार, बंगलादेश र नेपालसँग सांस्कृतिक र पर्यटकीय प्राथमिकता दिइरहेको छ । 

पछिल्लो समय नेपालसँगको पर्यटन प्रवर्द्धनका लागि सिधा हवाइ सम्पर्क कायम गर्न पहल भइरहेको छ। यस्तोमा यो भ्रमणलाई महत्वपूर्ण मानिएको छ। 

गत जुन १४ मा कुन्मिङबाट काठमाडौं सिधा हवाइ उडान भएको थियो । त्यसलाई व्यवासयिक रुपमा निरन्तरता दिने योजना पनि युन्नान प्रान्ती सरकारले बनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १९:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update