Public Pana
एसियन गेम्समा सहभागी हुन नेपाली महिला फुटबल टोली चीन प्रस्थान

१९औं एसियन गेम्समा सहभागी हुन नेपाली राष्ट्रिय महिला फुटबल टोली चीन प्रस्थान गरेको छ ।
 

चीनको हान्झाउमा यही सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियन गेम्समार्फत नेपाली महिला फुटबल टोलीले एसियन गेम्समा डेब्यु गर्दैछ ।
 

रेनुका नगरकोटीको कप्तानीमा रहेको नेपाली टोलीमा २२ खेलाडी छन् । नेपालका सफल प्रशिक्षक बालगोपाल महर्जन मुख्य प्रशिक्षक छन् ।
 

१९औं एसियाडमा महिला फुटबल प्रतियोगिता भने २१ सेप्टेम्बरदेखि सुरु हुनेछ । नेपाल रहेको समूह ‘डी’मा विश्वकप खेलिसकेको जापान र भियतनामसहित साफ च्याम्पियनसिपको विजेता बंगलादेश छ ।

जापान विश्वकप विजेता समेत हो ।


नेपालले आफ्नो पहिलो खेल भियतनामसँग २२ सेप्टेम्बरमा खेल्नेछ । यस्तै विश्व विजेता जापानसँग २५ सेप्टेम्बर तथा बंगलादेशसँग २८ सेप्टेम्बरमा खेल्नेछ ।
 

नेपालले केही समयअघि बंगलादेश विरुद्धको दुई खेलको मैत्रीपूर्ण सिरिज जितेको थियो ।

यस्तै पेरिस ओलम्पिक अन्तर्गत महिला फुटबलको एसियन छनोटमा नेपालले भियतनामसँग घरेलु मैदानमा दुई खेल खेलेको थियो भने दुवैमा पराजित भएको थियो ।
 

यसैबीच २०१० को गोन्जाउ एसियाडमा नेपालका लागि एक मात्र कास्य जितेका बक्सिङमा पूर्व खेलाडी दीपक महर्जन पनि आजै चीन प्रस्थान गरेका छन् ।
 

उनी एसियाडअघि टर्च र्यालीमा सहभागी हुन चाँडै गएका हुन् । दीपक १९औं एसियाडमा नेपाली बक्सिङ टोलीका प्रशिक्षक पनि हुन् ।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update