Public Pana
तीजको दिन आजको मौसम

आज हरिवोधनी एकादशी एकादशी । महिलाहरुको चाड तीजको दिन । 

तीजका दिन आजको मौसम देशका केही भू–भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

बिहान वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसँगै वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ ।

सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भागका थोरै स्थानमा र बाँकी भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

वर्षाका कारण नदीको जलसतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा असुविधाको सम्भावना रहेको विभागको भनाइ छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू–भाग र मध्य प्रदेशको पश्चिमी भू–भाग आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
 

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update