Public Pana

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुन तस्करी गर्ने उद्योग नै चलाएको आरोप लगाएका छन् ।

आफूमाथि पशुपतिमा ‘सुनको भनेर पित्तलको जलहरी चढाएको’ आरोप लगाएर सरकारले एयरपोर्टबाट क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको ओलीको जिकिर थियो । 

आज आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ता हित’ विषयक विचार गोष्ठीमा बोल्दै उनले सरकारले ‘चिलतिर औंलो देखाएर कुखुरा उडाएको शैलीमा’ क्वीन्टलका क्वीन्टल सुन तस्करी गरेको बताए ।


अध्यक्ष ओलीले माओवादी नेता कृष्णबहादुर महरा बाबुछोराप्रति संकेत गर्दै साढे नौ केजी सुन तस्करी गर्नेलाई बचाउनका लागि २९४ पटक फोन सम्पर्क गर्नेलाई सरकारले केही पनि नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे । 


वर्तमान सरकार उपभोक्तामाथि संस्थागत रुपमै गैरजिम्मेवार रहेको भन्दै ओलीले उपभोक्ताको हित संरक्षण गर्ने कर्तव्यबाट च्युत नहुन पनि सचेत गराए ।


उनले भने, ‘साढे नौ केजी सुन पक्राउ पर्यो। त्यो कहाँ गयो, के भयो, अत्तापत्तो छैन। र, बजारले त्यसलाई सामान्य रुपमा लिएको छ । नेपाली समाजले। साढे नौ केजी सुन भन्सारमा पक्राउ पर्यो। त्यो अलपत्र, अलपत्र छ । को को का बाउछोरा के, के भयो रे ? २९४ पटक सम्पर्क गरेको देखियो, भन्सारमा कुदेर गएको पाइयो। यो छोडदेऊ। यसोयसो भनेको पाइयो । तर पनि केही हुँदैन ।’
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update