Public Pana
सर्वसाधारणको पैसा लिदै गरेका सहकारीमध्ये अलग रह्यो, आर्जन बचत सहकारी - ८ प्रतिशत लाभांश वितरण

आर्जन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश प्रदान गर्ने भएको छ ।
 

पछिल्लो समय सहकारीको मारमा पर्दै कलाकारदेखि अधिकांश सर्वसाधारण जम्मा गरेको रकम सहकारीले नदिएको भन्दै काठमाडौंको माइतिघरमा धर्ना बस्नुपरेको अवस्था छ ।
 

यस्तो डरलाग्दो समयमा अन्य संस्थाभन्दा अलग र विश्वासिलो देखिएको छ, ललितपुको कुमारिपाटीस्थित आर्जन बचत सहकारी ।
 

यो सहकारीले आफ्नो १४ औं साधारणसभामा गत आर्थिक वर्ष (आव) ०७९÷८० को वार्षिक प्रतिवेदन र चालु आवको अनुमानित बजेट पारित गर्दै सो लाभांश पारित गरेको हो ।
 

हिजो शनिबार सम्पन्न साधारणसभामा सहकारीका अध्यक्ष प्रविण सुवेदीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिवेदनअनुसार गत आव ०७९-८० सम्ममा संस्थाको चुक्ता शेयर पुँजी तीन करोड उन्चालिस लाख सतसठ्ठी हजार नौ सय रुपैयाँ पुगेको छ । संस्थाको कारोबारमा भने अघिल्लो आर्थिक वर्ष ०७८-७९ को तुलनामा १२ दशमलब १० प्रतिशतले संकुचन आई उन्तिस करोड त्रिपन्न लाख साठी हजार दुई सय बयासी रुपैयाँ बराबर पुगेको संस्थाका अध्यक्ष सुवेदीले बताए ।
गत आव ०७९-८० मा संस्थाले बाइस करोड छत्तिस लाख दुई हजार दुई सय चौबिस रुपैयाँ बराबर निक्षेप गर्न सफल भएको र सोही आवको अन्त्यसम्म तेइस करोड एक्काइस लाख सात हजार तीन सय रुपैयाँ कर्जा लगानी पुँजी पुगेको छ । 

 

गत आवमा संस्थाले सात करोड दश लाख चौरानब्बे हजार रुपैयाँ नयाँ कर्जा लगानी गरेको छ भने सोही अवधिमा तेह्र करोड दुई लाख सात हजार चार सय नब्बे रुपैयाँ कर्जा असुली गरेको छ ।
 

संस्थाले गत आवमा आयकर पछिको खुद नाफा ७६ लाख आठ हजार ६ सय ६४ रुपैयाँ आर्जन गर्न सफल भएको छ । 
 

मुलुकको अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीलाई ध्यानमा राखेर संस्थाले निक्षेप र नयाँ कर्जा प्रवाहलाई खुम्च्याउने रणनीति अख्तियार गर्दा खुद नाफामा अघिल्लो आवको तुलनामा २७ दशमलब ११ प्रतिशतले संकुचन भएको सहकारीले जनाएको छ । 


चालु आवमा तीन करोड ५० लाख शेयर पुँजी पुर्याउने, २५ करोड निक्षेप पुर्याउने, २५ करोड कर्जा लगानी पुर्याउने, ब्याज आम्दानी ४ करोड पुर्याउने र खुद नाफा एक करोड १० लाख पुर्याउने लक्ष्य सहकारीको छ । 
 

संस्थाको साधारण सभामा बोल्दै प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी बैंक लिमिटेड लगनखेल शाखाकी प्रमुख रमा घिमिरेले पछिल्लो समयमा सहकारीहरुमा देखिएको समस्याको एउटा कारण सञ्चालक र सदस्यहरुबीचको निकटतामा कमि भएकोमा सो संस्थामा सो अवस्था नरहेको बताइन् ।
 

घिमिरेले अहिलेको विषम परिस्थितिमा पनि संस्थाले समयमा नै साधारणसभा गरेर आफ्नो स्थिति प्रस्तुत गर्न सफल भएको भन्दै आगामी वर्षमा थप लाभांश आर्जन गर्न सक्ने बताएकी थिइन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update