Public Pana
देश र जनताका लागि काम गर्ने अर्थमन्त्री महराको दाबी

अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्ने बताएका छन् ।

आज आइतबार ललितपुरको गोदावरी नगरपालिका वडा नं ११ स्थित बज्रवाराही चापागाउँ अस्पतालको प्रस्तावित भवनको शिलान्यास गर्दै उनले विकास निर्माणका योजना सञ्चालन गर्दा सरकारले देशको हित अनुकूल जनताको आवश्यकतालाई ध्यानमा राखेर काम गर्ने बताएका हुन् ।

‘देशका सबै नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक छ, क्षमताभन्दा हाम्रो आवश्यकता बढी छ, गत वर्ष राजश्व काम उठेको थियो, जसले मागअनुसार सम्बोधन गर्न केही कठिनाइ भइरहेको छ, अहिले अवस्था सुधार हुँदै छ, यति हुँदाहुँदै पनि भएको स्रोतलाई परिचालन गर्दै देश र जनतालाई केन्द्र विन्दुमा राखेर काम गर्ने कुरामा प्रतिबद्ध छौँ,’ अर्थमन्त्री डा. महतले भने ।

उनले नेपालमा रहेका सम्भावना र रोजगारी सिर्जना गर्ने काममा सकारात्मक सन्देश र बहस हरेक तहबाट हुनु आवश्यक रहेको धारणा राख्दै यसले आत्मविश्वास बढ्नेमा जोड दिए ।

आर्थिक गतिविधिको चक्र चलायमान बनाउन देशभर सबैको आत्मविश्वास बढाउनु आवश्यक रहेको उल्लेख गर्दै महतले यसमा सबै नागरिकहरूको भूमिका रहेको धारणा राखे ।

उनले २०५२ सालमा नेपालीको आयु सरदर ५४ वर्ष रहेकामा अहिले बढेर ७१ वर्ष पुगेको जनाउँदै आगामी दिनमा अझै यो सूचक राम्रो बनाउन हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सुविधा सुनिश्चित गर्नु आवश्यक रहेको बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update