थारू समुदायले आज (आइतबार) ‘अट्वारी पर्व ’ धुमधामका साथ मनाउँदैछन् ।
बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लामा बसोबास गर्ने समुदायले माघीपछिको ठूलो पर्वका रूपमा यसलाई मनाउने गर्दछन् ।
धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व अट्वारी पर्व कृष्ण जन्माष्टमीपछि अर्थात् पूर्णिमा मा पर्दछ ।
शनिवार दर खाने र आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । परम्परागत रूपमा मनाइँदै आएको पर्व आइतबारका दिन मनाउने भएकाले ‘अट्वारी’ भन्ने गरिएको हो ।
टपरीमा रोटी, काँक्रो, केरालगायत अन्य फलफूल, दही, घ्यू राखिन्छ । बर्तालुले आफ्नो टपरीबाट सबै खानेकुरा अग्नि देवतालाई चढाउँछन् । यसपछि एक दुना टपरीबाट अर्को दुना टपरीमा खानेकुरा अलिअलि निकाल्छन् ।
खानुभन्दा पहिला निकालेको खानेकुरालाई ‘अग्रासन’ भनिन्छ ।
छुट्टै दुना, टपरीमा केही अंश छुट्याएर राख्छन् ।
त्सपछि आफू खान्छन् । साँझ निकालिएको खानेकुरा र बिहानको खाना ‘अग्रासन’ आफ्ना दिदीबहिनीलाई दिन जान्छन् । आफूले खाने खाना साकाहारी भए पनि दिदीबहिनीलाई दिन जाँदा माछा, मासु पकाएर दिने चलन छ । चेलीबेटी अग्रासन आउने दिन हर्षित हुन्छन् । माइतीबाट दिन आउने अग्रासनको प्रतीक्षामा खाना नखाई बस्छन् ।
यो अग्रासनले माइतीको माया र सद्भावलाई दर्शाउँछ । ‘अग्रासन’ले पराइघर बसेकी चेलीको प्रेमलाई छर्लङ्ग पार्दछ । दाजुभाइ दिदीबहिनीको प्रेमको प्रतीक हो ।
आइतबार दिनभरि व्रत बसेर दाजुभाइले साँझ पूजापाठ गरेर फलफूल र अनदीको रोटी खाने गर्दछन् ।
बर्तालुले फलफूललगायतका परिकार खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ ।
यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीका रूपमा उपहार दिने गरिन्छ ।