Public Pana
सल्यानमा घरभित्र शंकास्पद अवस्थामा आमा–छोरीको मृत्यु

सल्यानको त्रिवेणीमा शंकास्पद अवस्थामा आमा छोरीको शव फेला परेको छ । 
 

त्रिवेणी गाउँपालिका–२ धारढुंगा गाउँकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिने छोरी ऋतुको आगोमा आधा शरीर जलेको अवस्थामा शव फेला परेको हो ।
 

आमा छोरीलाई आगो लगाएर कसैले हत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । 
 

‘उनीहरुको आधा जलेको शव हिजो शनिबार बिहान घरभित्र फेला परेको हो,’ जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डीएसपी नवीन कार्कीले भने, ‘घटनास्थलको प्रकृति हेर्दा कसैले आगो लगाएर आमा छोरीको हत्या गरेको जस्तो देखिन्छ। घटनाबारे थप अनुसन्धान हुँदैछ ।’
 

रेवतीका पति शुकबहादुर थापा रोजगारीको लागि भारतमा छन् । उनी दुई महिनाअघि मात्रै घरबाट भारत गएका छिमेकीले बताएका छन् ।
 

टिनले छाएको घरमा आमा छोरी मात्रै बस्दै आएका थिए ।

घटनाबारे प्रहरीलाई स्थानीयले हिजो  बिहान साढे ७ बजे खबर गरेपछि आफूसहितको टोली घटनास्थलमा पुगेको डीएसपी कार्कीले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update