Public Pana
आज दर खाने दिन

आजको तीजको लागि दर खाने दिन । सबै नेपालीको घरमा विशेष हिन्दुहरुले भोलिको कठिन तीजको व्रतलाई आजको दरले खानुपर्ने हुन्छ । 
 

किनभने भोलिको व्रत केवल व्रत मात्र नभई दिनभरिको नाचगान, कुराकानी, पूजापाठ अनि रमाइलो पनि हो ।
 

यसरी नारीहरू एकै ठाउँमा भेला भएर रमाइलो गर्दै मध्यरातमा बसेर मीठा–मीठा परिकारहरू खाने चलन नै दर हो ।
 

दरमा पकवानहरूमा ढकने, आलुदम, आलु–कबाफ, दूध, कुरौनी, फलफूल, मिठाई लगायतका अडिला कुराहरू सेवन गर्ने चलन छ । 
 

अझ विवाहित चेलीका लागि त दरको महत्त्व वास्तवमै अगाध स्नेहमयी हुन्छ । 
माइतीको निम्तोमा दर खान पुगेका चेलीहरू आजको दिन आमा, हजुर या भाउजूहरूको स्नेहमा लुटपुटिँदै उपरखुट्टी लगाएर घरको कुनै सुर्ता नराखी खाने, रमाउने चलन छ ।

 

आजभोलि महिनौँ अघि देखि नै दर खाने र रमाइलो गर्ने चलन बढ्दो छ तर तिज भन्दा एक दिन अगाडि चाहिँ हाम्रो परम्परागत दर खाने चलन रहिआएको मान्यता छ ।
 

तीज एउटा संस्कार मात्र नभई सभ्यता हो । हेर्नेले यसलाई नारीवादी चाडका रूपमा हेर्ने गर्छन् । तर आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भने तीज नारी र पुरुषको समानता अनि लैगिंक समानताको उत्साह पनि हो । 
 

आमा, छोरी, बुहारी, सासू, आमाजू, दिदी, बहिनी लगायत सम्पूर्ण महिला नातागोताहरूको साझा चौतारीका रूपमा तीजलाई लिन सकिन्छ ।
 

वैदिक हिन्दु सनातन परम्परा, संस्कार तथा महिला सौभाग्यको प्रतीक स्वरूप रातो सारी, छड्के तिलहरी, लगनको पोते लगायतका गरगहना र वस्त्र पहिरिएर तीजको दिनमा निराहार व्रत लिएर मठ मन्दिर, टोल छिमेकमा भेला भई नाचगान गर्दै रमाइलो गर्ने चलन रहिआएको छ ।
 

वास्तवमा भन्ने हो भने दरो या बलियो भन्ने बुझिने दर शब्द हाम्रो अधिकांश चाडपर्वको पूर्व सन्ध्यामा आउने शब्द हो ।
 

भोलीपल्टको दिन व्रत या पुजा अर्चना गरेर मात्र खान पाउने प्रावधान भएको अवस्थामा

राती अडिलो खाना खाएर सुत्ने, सकेसम्म ढिलो खाना खाएर सुत्ने चलन थियो । 
यही चलन अहिले आएर दर भएको हो ।

 

आज दर खाने दिनको हामी सबैलाई मुरी–मुरी शुभकामना ।

dar--ok1694922159.jpg


 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update