Public Pana
नारायणगढ गोन्द्राङ सडक निर्माणमा ५ करोड विनियोजन

चितवनको मुख्य बजार क्षेत्र नारायणगढदेखि गोन्द्राङसम्मको सडक ६ लेनमा विस्तार गर्ने कामका लागि सरकारले चालु आर्थिक बर्षमा जम्मा ५ करोड मात्रै रकम विनियोजन गरेको छ ।
 

६ किलोमिटर लामो सडक विस्तारको म्याद आउने मंसिरसम्म छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार सडक विस्तारको करिब ७० प्रतिशत काम सकिएको छ ।
 

सडक विस्तार गरिरहेको ठेकेदार कम्पनी सगुन कन्स्ट्रक्सनले सरकारले चालु बर्षका लागि छुट्याएको रकम बराबरको काम गरिसकेकोले भुक्तानीका लागि बिल पेश गर्ने तयारी गरेको छ । ‘साउनयता नै ५ करोडको काम गरिसकेका छौं’, ठेकेदार कम्पनीका प्रमुख सहदेव खड्काले भने, ‘भुक्तानीका लागि बिल बनाउने काम भइरहेको छ ।’
 

१ अर्ब २३ करोड रुपैयाँ कुल लागत रहेको यो सडकमा निर्माण कम्पनीले ७२ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । 
 

मंसिरसम्मको ३ महिनाको अवधिमा ठेकेदार कम्पनीले बाँकी ३० प्रतिशत काम सकेमा उसलाई थप ६० करोड रुपैयाँ भुक्तानी गर्नुपर्छ ।

तर सरकारले ५ करोड रुपैयाँ मात्र दिएकाले थप बजेट सरकारले नदिए सडक विस्तारको काममा असर पर्ने देखिएको छ ।
 

भरतपुर महानगरपालिकाले सन् २०२४ लाई भरतपुर भ्रमण बर्ष मनाउने तयारी गरिहदा नारायणगढ बजार क्षेत्रमा नै सडक लठभद्र हुने हो कि भन्ने चिन्ता बढ्न थालेको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update