Public Pana
राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । 
 

राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान शीतल निवास पुगेका हुन् ।
भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकामा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारे जानकारी गराएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

 

साथै सो भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।
प्रधानमन्त्री प्रचण्ड आजै साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ । 

 

उनले आगामी बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसको अघिल्लो दिन मंगलबार उनी अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
 

अमेरिकामा रहँदा प्रधानमन्त्रीले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य शिखर सम्मेलन र जलवायु महत्त्वाकांक्षा शिखर सम्मेलन लगायतका कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।
 

उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि छ । 
 

प्रधानमन्त्रीको भ्रमणमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल लगायत सहभागी हुनेछन।
 

प्रधानमन्त्री प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन जाने कार्यक्रम छ ।
 

चीन भ्रमणका क्रममा ऊर्जा, भौतिक पूर्वाधार, यातायात, कृषिलगायत विषयमा दुई पक्षीय छलफल र समझदारी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  १२:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update