Public Pana

काठमाडौँको गैह्रीगाउँमा हत्या गरेको अवस्थामा शनिबार बिहान फेला परेका चारवटा शवको सनाखत भएको छ । 
 

धारिलो हतियार प्रहार गरेर विभत्स ढंगले हत्या गरेको अवस्थामा दिव्य स–मिलमा फेला परेका २ पुरुष र २ महिलाको शवको सनाखत भएको हो । 
 

हत्या हुनेमा सोही काठ मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राई छन् ।
घटनास्थलबाट सोधपुछका लागि काठमाडौँ महानगरपालिका ३२  तीनकुने बस्ने अन्दाजी २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीनेशराज मैनालीले जानकारी दिए ।

 

राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनले मदिरा पिएको पाइएको छ ।

 

हत्या प्रकरणमा प्रहरीले थप चार जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुलाई काठमाडौंको जडिबुटी क्षेत्रबाट पक्राउ गरिएको हो ।

प्रहरीले अनुसन्धानमा प्रयोग गरेको कुकुरले पनि जडीबुटीसम्म लोकेशन पत्ता लगाएको र त्यहाँ पुगेर अलमलिएको बताइएको थियो ।

प्रहरीले घटनामा संग्लन्न भएको आशंकामा त्यही क्षेत्रबाट ४ जनालाई पक्राउ गरेको हो । यधपी उनीहरुको परिचय दिन प्रहरीले मानेको छैन । 

गएराति ११ बजेर ५५ मिनेटमा तीनकुनेस्थित दिव्य सःमिल भित्र काठले बनेको एक तले जस्ताको टहरोमा धारिलो हतियार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो ।

मारिने सबैको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ । 
प्रहरीले अहिले घटनास्थल पुगेर मुचुल्का लगायतका काम गरिरहेको छ। साथै अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान कार्य शुरु गरिएको प्रहरीले जनाएको छ । 

 

गैरीगाउँबाट सिनामंगलतर्फ जाने सडक किनारामै जोडिएको दिव्य स–मिल दोलखाको कालिञ्चोक गाउँपालिका घर भई गौशाला बस्ने बालकृष्ण शिवाकोटीको भएको प्रहरीले जनाएको छ ।
 

चारवटै शवलाई पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ ।
 

घटनाको सम्बन्धमा अनुसन्धानका विविध विधि र प्रविधि प्रयोग गरी सुक्ष्म अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीले ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ ।

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update