Public Pana
प्रधानमन्त्री अमेरिका जाने दिन नै बाबुराम भट्टराई किन जाँदैछन् भारत ?

प्रधानमन्त्री प्रचण्ड अमेरिका भ्रमणमा निस्कने दिन नै पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई भारत जान लागेका छन् ।
 

प्रधानमन्त्री आज सँझ अमेरिका जाँदैछन् । डा बाबुराम भट्टराई पनि आजै एक साता लामो भ्रमणका क्रममा भारत प्रस्थान गर्दैछन् ।
 

कुनै समय एकै पार्टीका नेता समेत रहेका प्रचण्ड र बाबुरामका बीचमा केही समय अगाडी फेरि पार्टी एकताको प्रयास भएको थियो । तर समाजवादी मोर्चा निर्माणका क्रमदेखि फेरि सम्वन्ध चिसिन थालेको छ ।
 

यही क्रममा प्रचण्डको अमेरिका भ्रमणका बेला बाबुरामको दिल्ली भ्रमण किन भन्ने प्रश्न थियो । तर बाबुरामको सचिवालयले भट्टराई पार्टीको आन्तरिक कामले दिल्ली जान लागेको बताएको छ ।

बाबुरामले भारत भ्रमणका क्रममा नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्नुका साथै तीज विशेष भेटघाट र नेपालको आर्थिक विकासलगायतका विषयमा व्याख्यान दिने भट्टराईको सचिवालयले जानकारी दिएको छ ।
 

भारत बसाईका क्रममा डा भट्टराईले त्यहाँका नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजीवी, नागरिक समाजका अगुवासँग पनि भेटघाट गर्ने कार्यक्रम छ। डा. भट्टराईको कार्यक्रम गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढमा केन्द्रित हुनेछ ।
 

नेपाल समाजवादी पार्टी प्रवास कमिटीको निमन्त्रणामा भट्टराई आज भारत जान लागेका हुन् । डा. भट्टराई असोज ५ गते स्वदेश फर्कनेछन् ।


 

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update