Public Pana
निजामती कर्मचारीको एसएमएस प्रधानमन्त्रीलाई

निजामती कर्मचारीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एसएमएस पठाएका छन् ।
 

‘सम्माननीय प्रधानमन्त्रीज्यू, नासुका आँसु देख्नु भएन ?’ लेखिएको एसएमएस कर्मचारीहरूले शुक्रबार प्रधानमन्त्रीको मोबाइलमा पठाएका छन् ।
 

सरकारले संघीय निजामती सेवा विधेयक संसदमा दर्ता गर्न लागेकोले प्रधानमन्त्रीलाई एसएमएस पठाइएको हो ।
 

मन्त्रिपरिषद्ले पारित गरेको विधेयक सरकारले संघीय संसदमा पेश गर्ने तयारी गरेको छ ।
कर्मचारीहरूले विधेयकमा आफ्ना माग सम्बोधन गर्न आग्रह गरिरहेका छन् ।

तर विधेयकमा माग सम्बोधन नभएको पाइएको भन्दै प्रधानमन्त्री, उपप्रधानमन्त्री, संघीय मामिला मन्त्री र मुख्य सचिवलाई एसएमएस पठाइएको एक कर्मचारीले बताएका छन् ।
 

राजपत्र अनङ्कित कर्मचारी संरक्षण अभियानको पहलमा देशभरबाट कर्मचारीले विभिन्न माग राखेर एसएमएस पठाएका हुन् ।
 

माग पूरा नभए आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने उनीहरूले बताएका छन् ।
 

निजामती सेवा अधिकृतमुखी बनाउँदै ५ वर्ष सेवा अवधि भएकालाई १ तह र १० वर्ष सेवा अवधि भएकालाई २ तह वृद्धि सहित तीनै तहमा तहगत प्रणाली लागु गर्न उनीहरूले माग गरेका छन् ।
 

अधिकृत तहको सेवा प्रवेश बिन्दु छैटौँ तहलाई कायम गरिनुपर्ने माग उनीहरूको छ ।
छैटौँ अधिकृत तहको पदपूर्तिमा ५० प्रतिशत खुला, १० प्रतिशत बढुवा र आन्तरिक–अन्तर तह प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने माग उनीहरूको छ ।

 

चौथो तहको पदपूर्तिमा ७० प्रतिशत खुल्ला, २० प्रतिशत बढुवा र १० आन्तरिक प्रतिस्पर्धाको व्यवस्था हुनुपर्ने माग पनि उनीहरूको छ ।
 

अन्य पदमा हालको व्यवस्था यथावत कायम गरिनुपर्ने र तोकिएको सेवा अवधि तथा शैक्षिक योग्यता भएका राजपत्र अनङ्कित कर्मचारीलाई एघारौँ र नवौँ तहको खुला प्रतिस्पर्धामा सहभागी हुन रोक्न नहुने माग उनीहरूले राखेका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १२:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update